अर्थ मन्त्रालय बजेट निर्माणको अन्तिम गृहकार्यमा

जेष्ठ १४, २०७७ | काठमाडौं

अर्थ मन्त्रालय आगामी बजेटको अन्तिम गृहकार्यमा जुटेको छ । कोरोनाले शिथिल बनाएको अर्थतन्त्रको पुर्नउत्थान, कृषि, स्वास्थ्य, पूर्वाधार विकास एवं रोजगारी सिर्जनालाई उच्च प्राथमिकतामा राखेर अर्थमन्त्री डा युवराज खतिवडाले भोलि आगामी वर्षको बजेट संघीय संसदको संयुक्त सदनमा प्रस्तुत गर्न लाग्नुभएको हो । 

कोरोनाले मुलुकको अर्थतन्त्रलाई शिथिल बनाए पनि अर्थमन्त्री खतिवडाले चालू आर्थिक वर्षभन्दा १ खर्ब बढी १६ खर्ब ४० अर्ब रुपैयाँ हाराहारीमा बजेट प्रस्तुत गर्न लाग्नुभएको हो । सरकारले चालू आर्थिक वर्षका लागि १५ खर्ब ३२ खर्बको बजेट ल्याएको थियो । तर, खर्च हुन नसकेपछि संशोधित लक्ष्यबाट १३ खर्ब ७५ अर्ब रुपैयाँ लक्ष्य निर्धारण गरेको छ ।

बजेटका लागि स्रोतको अभाव नहुने भन्दै अर्थ मन्त्रालय श्रोतले करको दायरा फराकिलो तथा आन्तरिक र बाह्य ऋण बढाएर १६ खर्ब ४० अर्ब रुपैयाँ हाराहारीको बजेट आउने जनाएको छ । 

सरकारले आगामी आर्थिक वर्षमा लागि ११ खर्ब रुपैयाँ हाराहारीमा राजश्व संकलनको लक्ष्य राखेको छ भने, वैदेशिक ऋण तर्फ साढे ३ देखि ४ खर्ब रुपैयाँ बराबरको लक्ष्य राखेको छ । यस्तै, २ खर्ब १५ अर्ब रुपैयाँ हाराहारीमा आन्तरिक ऋण उठाउने गरी सरकारले झण्डै साढे १६ खर्बको बजेट तर्जुमा गर्न लागेको हो । 

करको दायरा बढाउने सरकारले नीति तथा कार्यक्रममा उल्लेख गरिसकेको छ । यसअघि योजना आयोगले आगामी वर्षका लागि १६ खर्ब ३३ अर्ब रुपैयाँ बजेट सिलिङ तोकेको थियो ।

सरकारको वार्षिक नीति तथा कार्यक्रममा समावेश गरिएका पपुलिस्ट कार्यक्रमलाई समावेश गर्नुपर्ने भएकाले पनि बजेटको आकार स्वभाविक बढ्ने अर्थ मन्त्रालय श्रोतको भनाई छ । कोरोनाले मुलुकको अर्थतन्त्रलाई शिथिल बनाएपनि सांसद विकास कोषको अन्र्तगतको रकम भने विनियोजन गर्ने भएको छ । सरकारी कर्मचारीको तलब भने यो वर्ष नबढ्ने अर्थ श्रोतले जनाएको छ । 


प्रतिक्रिया