५ महिना देखि बन्द रहेको रसुवागढी नाका सञ्चालनमा आउने

असार ११, २०७७ | रसुवा

विगत ५ महिनादेखि ठप्प भएको रसुवाको रसुवागढी नाका सञ्चालनमा आउने भएको छ । कोरोना भाइरसको संक्रमणका कारण गत माघ १५ गतेदेखि रसुवागढी नाकाबाट आयात–निर्यात जावत ठप्प छ । 

सो नाकाबाट सुरक्षित रुपमा सामान आयात गर्ने विषयमा नेपाल र चीनका समकक्षीबीच हिजो (बुधबार) मितेरी पुलमा छलफल भएको प्रमुख जिल्ला अधिकारी हरीप्रसाद पन्तले बताउनुभयो । 

मानिसहरुको आवागमनलाई अस्थायी रुपमा बन्द गर्ने, सामान आयातमा भने एकतर्फी जाँचपास हुने गरी नाका सञ्चालन गर्न चिनियाँ पक्ष तयार भएको उहाँले जानकारी दिनुभयो । त्यसका लागि नेपाली पक्षले सीमा नाकाको सुरक्षा प्रबन्ध, क्वारेन्टिन चेकजाँच, स्वास्थ्य सुरक्षको प्रबन्ध, भन्सार जाँचपास लगायत विषयमा आवश्यक तयारी छिटो पूरा गर्नुपर्नेछ । 

आयात हुन थालेपछि चिनियाँ पक्षले मितेरी पुलसम्म सामान ल्याइ दिने रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काले बताउनुभयो । मितेरी पुलबाट नेपाली चालकले सामान सम्बन्धित ठाउँसम्मा लैजाने छन् । 

त्यसको लागि नेपाली पक्षले चिनियाँ पक्षलाई १५ जना चालक र १५ जना कामदारको विवरण उपलब्ध गराउनुपर्ने उहाँले बताउनुभयो । हाललाई अत्यावश्यक सामान मात्र आयात गरिने उहाँले जानकारी दिनुभयो । 

मानिसहरुको आवागमनलाई अस्थायी रुपमा बन्द गर्ने, सामान आयातमा भने एकतर्फी जाँचपास हुने गरी नाका सञ्चालन गर्न चिनियाँ पक्ष तयार भएको उहाँले जानकारी दिनुभयो । मितेरी पुलसमम दैनिक चार ट्रक सामान आयात हुन्छ ।

सहज हुंदै गएमा विस्तारै सामान आयातलाई बढाइने छ । असार मसान्तभित्र सम्पन्न गरिसक्नु पर्ने आयोजनाका सामानहरु जलविद्युत तथा विमानस्थलका समानहरु आयात हुनेछ । मितेरी पुलबाट कोही पनि पारी जान पाइने छैन । मितेरी पुलमा सामग्री लिन जाने चालक कामदारको दैनिक परीक्षण गरिने छ ।

सिन्धुपाल्चोकको तातोपानी नाका यसअघि नै सञ्चालनमा आइसकेको छ । पाँच महिनादेखि नत सामान आयात भएको छ नत निर्यात । कोभिड–१९ को संक्रमण फैलिएपछि माघ १५ देखि नै रसुवागढी नाकाबाट आयात–निर्यात र आवत जावत ठप्प भएको हो ।

पर्यटक तथा मानिसको आवतजावत समेत ठप्प छ । त्यसअघि पनि ल्होसार पर्व, पहिरो र हिमपातका कारण केही दिन आयात–निर्यात रोकिएको थियो । नाकामा चहलपहल छैन । त्यसैले अहिले रसुवागढी नाका सुनसान छ । सीमामा सुरक्षा अधिकारीहरू मात्र छन् । सामान लिन केरुङ जान लाइनमा राखिएका केही खाली कन्टेनर छन् ।

नेपालको रसुवागढी नाकाबाट केरुङसम्मको दूरी २४ किलोमिटर रहेको छ । आयात निर्यात ठप्प हुँदा राजस्व संकलन प्रभावित भएको रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काले बताउनुभयो । 

दैनिक करोडौं राजस्व संकलन हुने रसुवा भन्सार कार्यालयको चैत्र, बैशाख र जेठ महिनाको राजस्व संकलन शुन्य भएको उहाँले बताउनुभयो । यो नाकाबाट मुख्य गरी तयारी कपडा, स्याउ, जुत्ता र चप्पल, झोला, चस्मा र फ्रेम लगायत आयात हुँदै आएको भन्सार कार्यालयले जनाएको छ । 


प्रतिक्रिया