असार १५ अघि नै बारामा ३० प्रतिशत रोपाइँ
असार १४, २०७७ | बारा
चाँडै मनसुन भित्रिएसँगै यस वर्षको असार १५ अघि नै बारामा ३० प्रतिशत रोपाइँ भएको छ । गत वर्ष भने यतिबेला रोपाइँ नै सुरु भएको थिएन । गत चैतदेखि लगातार पानी पर्दै आएपछि किसानहरुले धान रोपाइँको लागि चाँडै बीउ छरेका थिए ।
अहिले खेतमा पानी भएर र बीउँ चाँडै तयारी भएपछि किसानलाई रोपाइँको चटारो छ । ‘पोहोरको साल वर्षा बिनाको असारमा धान रोपाइँ असाध्यै कम भएको थियो,’ कृषि ज्ञान केन्द्रका प्रमुख जितेन्द्र यादवले भन्नुभयो, ‘यसपाली असार १५ अघि नै ३० प्रतिशत धान रोपाइँ भएको छ ।’
यसपालि लगातार पानी परेपछि धान उत्पादन बढ्न सक्ने उहाँले बताउनुभयो । उहाँका अनुसार गत वर्ष असारमा पानी नपर्दा रोपाइँ हुने एक चौथाई जमिन बाँझो परेको थियो । कृषि ज्ञान केन्द्रका अनुसार जिल्लाको झन्डै ६० हजार हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने गरेको छ ।
वातावरण परिवर्तनसँगै किसानको खेतीमा समेत साकारात्मक प्रभाव परिरहेको यादवले बताउनुभयो । ‘गत वर्ष यतिबेला रोपाइँको लागि न बीउ तयारी थियो न त खेतमा पानी नै,’ सिम्रौनगढ नगरपालिका–८ का किसान प्रदीप यादवले भने, ‘यो वर्ष पानी लगातार परेकोले असार १५ अघि नै आफ्नो २ बिघा खेतमा धान रोपिसकें ।’