नाका सञ्चालमा आएपछि ५८ लाख रुपैयाँ राजस्व संकलन

असार २९, २०७७ | रसुवा

रसुवाको रसुवागढी नाका सञ्चालमा आएपछि भन्सार कार्यालयले आइतबार एकैदिन ५८ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । विश्वव्यापी फैलिएको कोरोना भाइरसका कारण गत माघ १५ गतेदेखि आयात–निर्यात तथा आवतजावत ठप्प भएको रसुवागढी नाका गत सोमबारबाट सञ्चालमा आएको हो । 

आयात भएको सामानको आइतबारदेखि जाँचपास सुरु भएपछि ५८ लाख १९ हजार ९ सय १९ रुपैयाँ राजस्व संकलन भएको रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काले बताउनुभयो । 

सामान लैजानको लागि नाकामा व्यापारीहरु आउन थालेका छन् । आयात निर्यात ठप्प हुँदा ३ महिना चैत्र, बैशाख र जेष्ठको राजस्व संकलन शुन्य भएको खड्काले बताउनुभयो । गत सोमबार देखि नै सामान आयात भएपनि नाकासम्म व्यापारी आउन कठिन भएका कारण सामानको जाँचपासमा केहि ढिलाइ भएको भन्सार कार्यालयले जनाएको छ । 

व्यापारी आउन थालेपछि आइतबारदेखि जाँचपास सुरु भएको छ । चिनियाँ पक्षले गत सोमबारदेखि दैनिक ४ कन्टेनर सामान मितेरी पुलसम्म ल्याईदिने गरेका छन् । मितेरी पुलदेखि भन्सार यार्डसम्म सामान ल्याउनका लागि सामान लोड तथा अनलोड गर्न १६ जना कामदार र ढुवानी गर्नको लागि १५ जना चालक गरी ३१ जना जनशक्ति नाकामा खटिएका छन् । 

काममा खटिने कामदारलाई व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) सेट लगाउन अनिवार्य गरिएको छ भने उनीहरुको दैनिक स्वास्थ्य परीक्षण हुने गर्दछ । अहिले चीनबाट जुत्ता, चप्पल, लत्ताकपडा र इलेक्ट्रोनिक्स सामान आयात भइरहेको छ । टिमुरे भन्दा माथि कन्टेनर चालक, कामदार, सुरक्षाकर्मी र कर्मचारी बाहेक अन्यलाई जानमा रोक लगाइएको छ । नाकामा दुबैतर्फ स्वास्थ्य प्रोटोकल पूरा गरेपछि नाका सञ्चालनमा ल्याएको हो । 


प्रतिक्रिया