रसुवागढी भन्सारले वार्षिक लक्ष्य भेटाउन सकेन

श्रावण १, २०७७ | रसुवा

आर्थिक वर्ष २०७६/०७७ मा रसुवाको रसुवागढी भन्सार कार्यालयले राजस्व संकलनमा वार्षिक लक्ष्य भेटाउन सकेन । भन्सार कार्यालयले वार्षिक लक्ष्य भन्दा १ अर्ब ३५ करोड ५० लाख ५६ हजार कम राजस्व संकलन गरेको छ । 

वार्षिक लक्ष्यको ८५ दशमलव ५२ प्रतिशत मात्र राजस्व संकलन भएको रसुवागढी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत पुण्य विक्रम खड्काले बताउनुभयो । भन्सार विभागले आर्थिक वर्ष २०७६/०७७ का लागि रसुवा भन्सार कार्यालयलाई ९ अर्ब ३५ करोड ७८ लाख ३३ हजार रुपैयाँ राजस्व संकलन गर्ने वार्षिक लक्ष्य दिएको थियो । तर, कार्यालयले आर्थिक वर्ष ०७६/०७७ मा ८ अर्ब २७ लाख ७७ हजार मात्र राजस्व संकलन गरेको छ ।

विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण माघ १५ गतेदेखि नै रसुवागढी नाकाबाट आयात–निर्यात तथा आवतजावत ठप्प हुँदा राजस्व संकलन प्रभावित भएको उहाँले बताउनुभयो ।

त्यस्तै, सिन्धुपाल्चोकको तातोपानी नाका सञ्चालन हुनु, पछिल्लो समय स्याउ ढुवानी तातोपानी नाकाबाट हुनु र ढुवानी भाडा तातोपानी नाकाबाट सस्तो पर्ने भएकाले पनि रसुवागढीको राजस्व असूली प्रभावित भएको भन्सार कार्यालयले बताएको छ । आयात निर्यात ठप्प हुँदा ३ महिना राजस्व संकलन शून्य भएको थियो । कार्यालयको चैत्र, बैशाख र जेष्ठ महिनाको राजस्व संकलन शून्य भएको प्रमुख भन्सार अधिकृत खड्काले बताउनुभयो ।

नाका सञ्चालनमा आएपछि असार २६ गतेबाट मात्र राजस्व संकलन भएको हो । आयात–निर्यात तथा आवतजावत ठप्प भएको साढे ५ महिनापछि गत असार २२ गते नाकाबाट सामान आयात भएको हो । कार्यालयले आर्थिक वर्ष ०७५/०७६ मा १० अर्ब ६० करोड २४ लाख १९ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो । 

सो आर्थिक वर्ष ९ अरब ५० करोड ६२ लाख ६२ हजार राजस्व संकलन गर्ने वार्षिक लक्ष्य भन्सार कार्यालयले राखेको थियो । उहाँका अनुसार रसुवागढी नाकाबाट वर्षेनी सामान पैठारी हुने क्रम बढदै गएको भएपनि कोरोना भाइरसको महमारीका कारण गत माघ १५ गतेदेखि नै आयात–निर्यात ठप्प हुँदा राजस्व संकलनमा ठूलो असर पुगेको छ ।

सो नाकाबाट मुख्य गरी तयारी कपडा, स्याउ, लेडिज सेण्डल, रबर, प्लाष्टिकका जुत्ता चप्पल, हाते झोला, छालाको जुत्ता, मोटरको ब्याट्री, यूपीएस, चश्मा/चश्माको फ्रेम, प्लाष्टिकका सामान लगायत मालवस्तु पैठारी भइरहेको छ । 

नेपालबाट चीन तर्फ धातुको मूर्ति, मेहन्दी, दन्तमन्जन, श्रृंगारका सामान, चाउचाउ, पास्ता, जुस जाम, चकलेट, उनी गलैंचा कार्पेट, चुइगम, हेयर आयल, हेयर क्रिम लगायत वस्तुहरु निकासी हुनेको थियो । तर, अहिले ती सामानहरु निकासी हुन सकेको छैन् । नाकाबाट पैठारी मात्र भएको छ । चीनबाट हुने धेरैजसो आयात २०७२ मंसिरदेखि यही नाकाबाट हुँदै आएको छ । 

रसुवागढी नाका चीनबाट नेपालमा व्यापार हुने सबैभन्दा पुरानो नाका हो । २०१३ सालमै नाकामा भन्सार कार्यालय स्थापना भएको थियो । २०७१ साल मंसिर १५ गते देखि सो नाका विधिवत रूपमा सञ्चालनमा आएको हो । नाकालाई ०७४ भदौ १४ गते चीनले अन्तर्राष्ट्रिय नाका घोषणा गरेपछि सीमामा व्यापारी, व्यवसायी र सवारीको चाप बढ्दै गएको छ । 


प्रतिक्रिया