भारतबाट ल्याइएका प्रतिबन्धित माछा नष्ट

भारतबाट ल्याएको नेपालमा प्रतिबन्धित माछा नष्ट गरिंदै । तस्बिर : प्रदीप/कान्तिपुर 

श्रावण ५, २०७७ | सुनसरी

भारतबाट आयात गरिएका प्रतिबन्धित क्याट फिस जिल्ला प्रहरी कार्यालय सुनसरीले नष्ट गरेको छ । नेपालमा प्रतिबन्धित क्याट फिस प्रजातिको माछा भारतबाट रानी भन्सार हुँदै सुनसरीको इनरुवा ल्याउँदै गर्दा प्रहरीले भाण्टाबारी नाकाबाट नियन्त्रणमा लिएको थियो । 

सुनसरी प्रहरीले नियन्त्रणमा लिएका १५ लाख ९५ हजार रुपैयाँ बराबरको माछा आज नष्ट गरेका हुन् । भारतीय नम्बर प्लेटको ट्रकसहित पश्चिम बंगालको उत्तर चौबिस परगाना जिल्लाको स्वरुप नगरका २४ वर्षीय ट्रक चालक मोहम्मद इमानुएल गोल्दारलाई पनि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरिक्षक कमल थापाले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘साउन २ गते साँझ करीब ६ बजे माछा बोकेको ट्रक र चालक नियन्त्रणमा लिएर क्वारेटाइन चेकजाँचका लागि पशु पन्क्षी तथा मत्स्य विकास निर्देशनालय प्रदेश १ मा जानकारी दिँदा क्याटफिस माछा नेपालमा प्रतिबन्धित भएको प्रतिवेदन दिएपछि सोमबार नष्ट गरिएको हो ।’

नियन्त्रणमा लिएको माछा मानव स्वास्थ्य र वातावरणमा समेत प्रतिकूल असर गर्ने भएकाले लिएर नष्ट गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणी पोखरेलले बताउनुभयो । 

कोरोना महामारीले विश्व आक्रान्त भइरहेको बेला अन्तरदेशीय आयात निर्यातमा रोक लगाएको अवस्थामा प्रतिबन्धित माछा नेपाल भित्र्याएको सूचनाको आधारमा ५ हजार ८ सय २० किलो माछा बरामद गरेर नष्ट गरेको प्रहरीले जनाएको छ । भारतबाट अवैध रुपमा भित्राएका ती माछा धरान, विराटनगर, पोखरा र काठमाडौंका उपभोक्ताका लागि ल्याइएको थियो ।

नेपालमा प्रतिबन्धित गरिएको क्याटफिस प्रजातिको माछा नेपाली उपभोक्तालाई मात्र लक्षित गरेर भारतका विभिन्न प्रान्तमा उत्पादन गर्ने गरिएको पनि खुलेको छ । भारतमा समेत सन् २०१२ देखि प्रतिबन्धित गरिएको क्याटफिस मानिसका लागि उपभोग्य नरहेको बताइएको छ । 

सो माछा विषालु हुने भएपनि नेपालका व्यापारीहरुले जीवित र स्वस्थ मुङ्ग्री माछा भनेर बिक्री वितरण गर्दै आएका थिए । भारतबाट ती माछा ल्याउँदा अन्य माछालाई देखाएर क्वारेन्टाइन चेकजाँच पास गर्ने गरेको समेत खुलेको छ । 

प्रहरीका अनुसार थप कारवाहीका लागि ट्रकसहित चालक गोल्दारलाई भन्टाबारी नाकास्थित सेतुबन्ध भन्सार कार्यालयमा पठाएको छ । ती प्रजातिका माछा नेपालमा भित्र्याउने कार्यमा संलग्न तथा अन्य विषयमा थप अनुसन्धान अघि बढाउने प्रहरीले जनाएको छ ।


प्रतिक्रिया