रसुवागढी नाकाबाट पुन: सामान आयात सुरु

चिनियाँ पक्षले बुधबार मितेरी पुलसम्म ल्याइदिएका सामान नेपाली कन्टेनरमा लोड गर्दै । फोटो सौजन्य : ललिता ज्ञावली । 

आश्विन ७, २०७७ | रसुवा

रसुवाको रसुवागढी नाकाबाट पुन: सामान आयात हुन थालेको छ । सामान लोड–अनलोड गर्ने मजदुरमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि पछिल्लो तीन सातादेखि सो नाकाबाट सामान आयात ठप्प थियो । विश्वव्यापी फैलिएको कोरोना महामारीका कारण गत वर्षको माघ १५ गतेदेखि ठप्प भएको रसुवागढी नाका गत जेठबाट मात्र सञ्चालनमा आएको थियो ।

नाकाबाट बुधबारदेखि पुन: सामान आयात हुन थालेको रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काले बताउनुभयो । चिनियाँ पक्षले बुधबार चाइनिज एक कन्टेनर सामान मितेरी पुलसम्म ल्याइदिएका छन् । बुधबार आयात भएको सामान मेडिकल सामग्री भएको उहाँले जानकारी दिनुभयो । गत जेठ यता चीनबाट दैनिक ४ कन्टेनर सामान आउने गरेको थियो । 

सामान आयातमा वृद्धि गर्न नेपाली पक्षले चिनियाँ पक्षलाइ पटकपटक अनुरोध गर्दै आएको छ । ल्हासाबाट आएका चिनियाँ प्रतिनिधिले बुधबार रसुवागढी नाकाको अवलोकन गरेको छ । उनीहरुले नेपालतर्फ सामान झर्ने ठाउँको अवलोकाले गरेर फर्किएका थिए । 

चिनियाँ पक्षले दुइ सिफ्ट गरेर सामान आयात वृद्धि गर्ने बताएको छ । त्यसैको लागि स्थानको अवलोकन गर्न आएको भन्सार कार्यालयले बताएको छ । नाका ठप्प हुँदा अर्बौं मूल्य बराबरका १२ सय भन्दा बढी कन्टेनर सामान केरुङमा रोकिएको छ । नाका सहज रुपमा सञ्चालनमा नआएपछि दशैं तिहार र जाडो मौसमका लागि ल्याइएका सामान उतै अड्किएका छन् । 

करोडौंको स्याउ र लसुन कन्टेनर भित्रै कुहिएको व्यवसायी मुकुन्द पौडेलले बताउनुभयो । उहाँले भन्नुभयो, ‘आयात मात्र गरेर हुँदैन लामो समयदेखि निर्यात पनि रोकिएको छ । चीनतर्फ निर्यात गर्न पनि सरकारले पहल गर्न पर्छ ।’

नेपालबाट चीन तर्फ धातुको मूर्ति, मेहन्दी, दन्तमन्जन, श्रृंगारका सामान, चाउचाउ, पास्ता, जुस जाम, चकलेट, उनी गलैंचा कार्पेट, चुइगम, हेयर आयल, हेयर क्रीम लगायत वस्तुहरु निर्यात हुने गरेको थियो । तर, अहिले ती सामानहरु निर्यात हुन सकेको छैन । यो नाकाबाट मुख्य गरी ५ वटा मालवस्तु आयात भइरहेको कार्यालयले बताएको छ । पैठारी हुने मुख्य मालवस्तुमा तयारी कपडा, स्याउ, जुत्ता र चप्पल, झोला र चस्मा र फ्रेम रहेको छ । 


प्रतिक्रिया