नुवाकोटको तादीखोलामाथि पक्की पुलको शिलान्यास

कार्तिक २८, २०७७ | नुवाकोट

नुवाकोटको तादी र दुप्चेश्वर गाउँपालिका जोड्ने पक्की पुलको शिलान्यास गरिएको छ । संघीय सांसद हितबहादुर तामाङ र बागमती प्रदेश सरकारका भौतिक तथा पूर्वाधार मन्त्री रामेश्वर फुयाँलले भूमिपुजन गरी नरिवल फुटाएर आज शिलान्यास गर्नु भएको हो । 

संघीय सांसद हितबहादुर तामाङले पक्की पुल निर्माणले उत्तरी भेगमा रहेका स्थानीयले यातायात सेवाले काठमाडौसम्मको दूरीलाई छोट्याउने  बताउनुभयो । त्यसैगरी कार्यक्रममा प्रदेश उपसभामुख राधिका तामाङले पुल लगायत विकास निर्माणले ग्रामीणभेगका स्थानीयलाई आवतजावत गर्न सहज हुने बताउनुभयो । 

कार्यक्रममा प्रदेश मन्त्री फुयाँलले दुर्गम क्षेत्रको विकासलाई प्राथमिकताका साथ कार्य गरिरहेको बताउनुभयो । प्रदेश सरकारको आफ्नो आम्दानी स्रोतबाट पुलको लागि बजेट विनियोजन गरिएको उहाँको भनाई थियो । यो आवमा बागमती प्रदेशले १ सय वटा पुल र सडक बनाइरहेका उहाँले बताउनुभयो । 

बागमती प्रदेशले यो आवमा १० अर्ब बराबरको पुल र सडकमा रकम विनियोजन गरेको छ । बागमती प्रदेशले गाउपालिकाहरु रहेको केन्द्रसम्म जोड्ने सडकहरु निर्माण गरिरहेको छ । 


प्रतिक्रिया