सुनको चरम अभावको अविलम्ब अन्त्यका लागि महासंघद्वारा पहल

चैत्र १, २०७७ | काठमाडौं

सुन चाँदी व्यवसायीहरुको छाता संगठन नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले नेपाली बजारमा सुनको अभाव सिर्जना भएको भन्दै कोटा बढाउन माग गरेको छ । 

महासंघका अध्यक्ष रमेश महर्जन लगायत प्रतिनिधिमण्डलले आज अर्थमन्त्री विष्णु प्रसाद पौडल र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव बैकुण्ठ अर्याललाई भेटेर सुनको अभावले सृजना गरेको असहज परिस्थिति अन्त्यका लागि सुनको कोटा बढाउन माग गरेको हो । 

साविकमा दैनिक २० र सिजनको बेला २५ केजी सुन बिक्री वितरण हुँदै आएकोमा कोरोना भाइरसको महामारी पश्चात दैनिक १० केजीमा झारिएको थियो । हाल अर्थतन्त्रका सबै क्षेत्र सामान्य अवस्था आइसकेकाले सुनको दैनिक कोटा पनि पूर्व स्थितिमा लैजानु पर्ने महासंघका अध्यक्ष रमेश महर्जनले बताउनुभयो ।

सुनको आपूर्तिमा लामो समयदेखि अव्यवहारिक किसिमले अत्यधिक कटौती गरिएकाले मुलुकभर सुनको अभाव सृजना भएको महासंघका अध्यक्ष महर्जनले बताउनुभयो । यस्तो अवस्थामा अवैध कारोबारले बजार र समग्र गहना व्यवसायीलाई प्रतिकूल असर पर्ने अवस्था उत्पन्न भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको उहाँको भनाई छ । 

माग धान्नै नसक्ने गरी अव्यवहारिक किसिमले आपूर्तिलाई नियन्त्रण गर्दा अवैध गतिविधि बढने तथा राजश्व चुहावटको सम्भावना अधिक हुने भएकाले वर्तमान अवस्थामा दैनिक बिक्री वितरणको कोटालाई कम्तिमा ३० केजीसम्म पुर्‍याउनु पर्ने महासंघले माग गरेको छ । 

सुनको बिक्री वितरणलाई विकेन्द्रित गरी राष्ट्र बैंकले जारी गरेको सुन आयात तथा बिक्री वितरण कार्यविधि–२०६८ ले तोके अनुसार काठमाडौंका साथै धनगढी, नेपालगञ्ज, सिद्धार्थनगर, पोखरा, वीरगञ्ज, जनकपुर, विराटनगर र भद्रपुरबाट सुनको बिक्री वितरण हुनुपर्ने माग महासंघको छ । 

मुलुकभर सदस्य रहेको महासंघलाई जिल्लाको कोटा उपलब्ध नहुनु न्यायोचित नभएकाले महासंघलाई जिल्लाको कोटा अविलम्ब उपलब्ध गराउन माग गरिएको छ । 


प्रतिक्रिया