आगामी बजेटमा नयाँ आयोजना प्रस्ताव नगर्न अर्थ मन्त्रालयको आग्रह

चैत्र २, २०७७ | काठमाडौं

अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षको बजेटमा नयाँ आयोजना प्रस्ताव नगर्न अन्य मन्त्रालयहरुलाई आग्रह गरेको छ । आगामी बजेट तर्जुमा गर्न अर्थ मन्त्रालयले आज अन्य मन्त्रालयका सचिव तथा आयोजना प्रमुखसँग गरेको छलफलमा नयाँ आयोजना प्रस्ताव नगर्न अनुरोध गरेको हो । 

अर्थ मन्त्रालयले नयाँ आयोजनाका लागि बजेटको प्रस्ताव भन्दा पनि अघिल्लो आर्थिक वर्षका क्रमागत आयोजना समयमै सम्पन्न गर्न अन्य मन्त्रालयलाई आग्रह गरेको छ । छलफलमा अर्थ मन्त्रालयका बजेट महाशाखा प्रमुख सहसचिव धनीराम शर्माले अघिल्ला आर्थिक वर्षको क्रमागत आयोजना सम्पन्न गर्ने विषयलाई प्राथमिकतामा राखेर सोही अनुरुप योजना तर्जुमा गर्न आग्रह गर्नुभयो । 

अर्थ मन्त्रालयले सरकारले उपलब्ध गराउने ससर्त अनुदानको बारेमा भने त्रिपक्षीय छलफल गरेर मात्र योजना बनाउने भएको छ । ससर्त अनुदानमा सञ्चालित आयोजनाको कार्यान्वयन प्रभावकारी नभएको र अपनत्व पनि कसैले नलिएको कारण अर्थ मन्त्रालयले सम्बन्धित मन्त्रालय र प्रदेशसाग छलफल गरेर मात्र अगाडि बढाउने महाशाखा प्रमुख शर्माले जानकारी दिनुभयो । 

अर्थले कार्यसञ्चालन खर्चमा समेत मितव्ययिता अपनाउन आग्रह गरेको छ । सरकारले आगामी बजेटमा कार्यसञ्चालन सम्बन्धी बजेट वृद्धि नगर्ने भएकाले मन्त्रालयलाई बजेट नबढाउन आग्रह गरेको हो । 


प्रतिक्रिया