निषेधाज्ञामा काठमाडौं उपत्यकाका पेट्रोल पम्प खुला रहने

वैशाख १६, २०७८ | काठमाडौं

निषेधाज्ञा अवधिभर काठमाडौं उपत्यकाभित्रका सबै पेट्रोल पम्प खुला रहने भएका छन् । निषेधाज्ञाका समयमा गुड्ने अत्यावश्यक क्षेत्रका सवारी साधनलाई सहज रुपमा पेट्रोलियम पदार्थ उपलब्ध गराउने उद्देश्यले काठमाडौं उपत्यकाभित्रका पेट्रोल पम्प खुला रहने आयल निगमले जनाएको छ । 

निषेधाज्ञाको समयमा पेट्रोलियम पदार्थ सहज र सरल रुपमा बिक्री वितरण गर्न काठमाडौं, भक्तपुर र ललितपुरका पेट्रोल पम्प खुला रहने निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताउनुभयो । 

उपत्यकामा पेट्रोलियम पदार्थको आपूर्तिलाई सहज बनाउन थानकोटस्थित बागमती प्रादेशिक कार्यालय खुला रहेको उपाध्यायले जानकारी दिनुभयो । कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि उपत्यकाका तीनै जिल्लामा बिहीबारदेखि लागू हुने गरी निषेधाज्ञाको घोषणा गरिएको छ । 

निषेधाज्ञा लागू हुने भएपछि मंगलबारदेखि उपत्यकाका अधिकांश पेट्रोलपम्पमा पेट्रोल भर्ने उपभोक्ताको ठूलो लाइन लागेको थियो ।


प्रतिक्रिया