माथिल्लो तामाकोशीको मुख्य सुरुङमा पानी पठाउने काम सुरु

वैशाख १६, २०७८ | दोलखा

उत्पादनको अन्तिम तयारीमा रहेको मुलुककै ठूलो ४ सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको मुख्य सुरुङमा पानी पठाउने काम सुरु भएको छ । बैशाख मसान्तमा उत्पादनको तयारीमा रहेको सो आयोजनाको बाँधस्थलको पानी डिसेन्डर अर्थात बालुवा थिग्राउने पोखरीमा पानी पठाईएको हो । 

सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङ र भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त नेम्वाङले स्विच थिचेर डिसेन्डरमा पानी पठाउने काममा शुभारम्भ गर्नुभयो । डिसेन्डर भरिए लगत्तै पहिलोपटक सुरुङमा मुख्य पानी पठाएर पेनस्टकको परीक्षण सुरु गरिने आयोजनाका प्रवक्ता गणेश न्यौपानेले जानकारी दिनुभयो । 

माथिल्लो ठाडो सुरुङ र तल्लो ठाडो सुरुङकोबीच भागमा राखिएको पेनस्टक पाइप जडानको काम सकिएपछि मुख्य सुरुङ र पेनस्टक पाइपमा पानी भर्न थालिएको हो । दोलखामा निर्माणाधिन तामोकोशी जलविद्युत आयोजनाको सबै भन्दा महत्वपूर्ण मानिएको सुरुङ र पेनस्टक परीक्षण सफल भएपछि उत्पादनको मिति टुंगो लाग्ने प्रवक्ता न्यौपानेले बताउनुभयो । 

डिसेन्डरमा पानी भरिएपछि भोलिबाट सुरुङमा पानी पठाईने उहाँले जानकारी दिनुभयो । सुरुङ परीक्षणका लागि एकैपटक धेरै पानी पठाउन नसकिएकाले पानीको प्रवाह बढाएर सुरुङ परीक्षण हुने प्रवक्ता न्यौपानेले जानकारी दिनुभयो । 

सुरुङमा पानी पठाएपछि मुख्य सुरुङ र पेनस्टकको परीक्षण हुने र परीक्षण सफल भए अबको १० देखि १२ दिनमा पहिलो युनिटबाट ७६ मेगावाट विद्युत उत्पादन हुने उहाँले बताउनुभयो । 

आयोजनाबाट वार्षिक २ अर्ब २८ करोड युनिट बिजुली उत्पादन हुने र बिजुली बिक्रीबाट वार्षिक ९ अर्ब रुपैयाँ आम्दानी गर्ने लक्ष्य रहेको प्रवक्ता न्यौपानेले जानकारी दिनुभयो । ३५ अर्ब ३३ करोड रुपैयाँमा निमार्ण सकिने भनिएको सो आयोजनाको लागत बढेर ८० अर्ब रुपैयाँ पुग्ने अनुमान गरिएको छ ।


प्रतिक्रिया