सुनसरी–संखुवासभा २२० केभी प्रसारण लाइन निर्माण पूरा

आश्विन २०, २०७८ | धनकुटा

कोसी करिडोर अन्तर्गत पहिलो प्याकेजको सुनसरीको इनरुवादेखि संखुवासभाको तुम्लिङटार सम्मको २२० केभी प्रसारण लाइन निर्माण सम्पन्न भएको छ । 

नेपाल तथा भारतीय आयात निर्यात बैंकको सहुलियतपूर्ण ऋणमा निर्माण सम्पन्न भएको सो आयोजनाको बुधबार धनकुटाको हिलेमा एक कार्यक्रमबीच निर्माण कम्पनीले सरकारलाई हस्तान्तरण गरेको हो । 

कुल ४ अर्ब ३० करोड रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको ठेकेदार कम्पनी कलपत्रु पावर ट्रान्समिसन लिमिटेडले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हस्तान्तरण गरेको थियो । सुनसरीदेखि तुम्लिङ्गटारसम्म करीब ७६ किलोमिटरमा ३ सय २६ वटा टावर निर्माण भएका छन् । 

दोस्रो प्याकेजमा पर्ने बसन्तपुर, बोनेश्वर, तुम्लिङ्गटार र इनरुवामा निर्माण हुने २२० स्तरको सव–स्टेसनको कार्य समेत ८० प्रतिशत भएको जनाएको छ । यसको कुल लागत दुई अर्ब ९१ करोड रुपैयाँ रहेको छ । 

त्यस्तै, तेस्रो प्याकेजमा दुई अर्ब ५० करोड रुपैयाँको लागतमा निर्माण हुने बसन्तपुरदेखि ढुङ्गे साँघुसम्मको करीब ३५ किलोमिटरको प्रसारणलाइन निर्माणको कार्य समेत ७० प्रतिशत सम्पन्न भएको जनाएको छ । 

यी सबै आयोजना निर्माणपछि अरुण र तमोर नदी तथा तीनका सहायक नदीमा निर्माण गरिने जलविद्युत आयोजनाबाट उत्पादित बिजुली ग्राहकसम्म पुर्‍याउन सहज हुने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिनुभयो ।


प्रतिक्रिया