रसुवागढी नाका खोल्न व्यवसायीको माग

मंसिर २४, २०७८ | काठमाडौं

चीन र नेपाल जोड्ने रसुवागढी नाका खोल्न व्यवसायीहरुले माग गरेका छन् । मुलुकले व्यापार घाटा बेहोरिरहेको अवस्थामा नेपाली वस्तुको निर्यात ठप्प हुँदा पनि सरकारले ध्यान नदिएको व्यवसायीको गुनासो छ । २०७६ माघ १५ देखि नै रसुवागढी नाका भएर चीनमा हुने निर्यात प्रभावित छ ।

 सुरुमा हिमपात र ल्होसार पर्वका कारण निर्यात बन्द भएको थियो । पछि कोरोना भाइरस देखा परेपछि रसुवागढी नाका भएर चीनबाट हुने आयात–निर्यात थप प्रभावित भएको हो । रसुवागढी नाकाबाट व्यवसायीले २२ महिनादेखि सामान निर्यात गर्न पाएका छैनन् ।

मासिक ४० टनसम्म बेसार, खुर्सानी चीन पठाउने गरेपनि २२ महिनादेखि नाका ठप्प हुँदा करोडौं रुपैयाँको घाटा भएको व्यवसायी मुकुन्द पौडेल बताउनुहुन्छ । निर्यात ठप्प हुँदा पौडेलजस्तै सयौं व्यापारीले केरुङसम्म पुर्‍याएको सामान बिक्री गर्न नपाउँदा गोदाममा थन्किएका छन् । 


प्रतिक्रिया