वर्षाले रुपन्देहीमा ८ करोड बढीको इँटा नष्ट

पुस १७, २०७८ | भैरहवा

केहीदिन अघिको बेमौसमी वर्षाले रुपन्देहीमा करोडौं रुपैयाँ बराबरको काँचो इँट्टा नष्ट भएको छ । गत मंगलबार र बुधबार परेको वर्षाले रुपन्देहीका इँट्टा उद्योगमा घाममा सुकाउनका लागि राखिएका काँचो इँट्टा गलेर नष्ट भएका हुन् । 

रुपन्देहीमा सञ्चालित ४७ वटा इँट्टा उद्योगमा सुकाउनका लागि राखिएका ३ करोड गोटा भन्दा बढी काँचो इँट्टा गलेर नष्ट भएको लुम्बिनी इँट्टा उद्योग व्यवसायी संघले जनाएको छ । वर्षाले इँट्टा नष्ट हुँदा ८ करोड रुपैयाँ बढीको क्षति भएको संघका अध्यक्ष अजय कुमार गुप्ताले बताउनुभयो । 

इँट्टाको माग बढेको खण्डमा अहिले अभावका अवस्था सिर्जना हुन सक्ने उहाँको भनाई छ । ‘मौसम पूर्वानुमान महाशाखाले केही दिन अघिदेखि पानी पर्ने सूचना जारी गरेपनि करोडौंको संख्यामा राखिउका इँट्टालाई ओत लगाएर सुकाउन सम्भव नै थिएन,’ गुप्ताले भन्नुभयो, ‘मंसिरको दोस्रो सातादेखि धमाधम काँचो इँट्टा तयार पारि घाममा सुकाएर माघको सुरुदेखि पोलेर तयार पार्ने सिजन हो ।’ 

घाममा सुकाएर पकाउन तयार पारिएको काँचो इँट्टा गलेपछि त्यसलाई पुन: प्रयोगमा ल्याउन मिल्दैन । भट्टामा पोल्नका लागि तयार पारिएका काँचो इँट्टा सुक्न चैत–बैशाखमा कम्तीमा ५/६ दिन र हिउँदमा १२ देखि १५ दिनसम्म लाग्ने गुप्ताले बताउनुभयो । 

यतिबेला सानो परिमाणमा उत्पादन गर्ने उद्योगमा पनि दैनिक ४० हजार गोटा भन्दा धेरै काँचो इँट्टा तयार पार्ने गरिन्छ । एउटा उद्योगमा १ सय देखि २ सय संख्यासम्म कामदार कार्यरत हुन्छन् । काँचो इँट्टाको बीमा गर्नेतर्फ सरकार र बीमा कम्पनीले कुनै पहल नगर्दा बेमौसमी वर्षाका कारण आफूहरुले ठूलो क्षति बेहोर्नु परेको व्यवसायीको गुनासो छ । 


प्रतिक्रिया