निमार्णधिन पुल अलपत्र छोडेर ठेकेदार २ वर्षदेखि सम्पर्कविहीन

माघ २३, २०७९ | पूर्वी नवलपरासी

पूर्वी नवलपरासीको कावासोतीको केरुङ्गे खोलामा निर्माणधिन पुल अलपत्र पारेर ठेकेदार सम्पर्कविहीन भएका छन् । कावासोती नगरपालिकाको वडा नम्बर–४ र ३ को बिचमा रहेको केरुङ्गे खोलाको पुल निर्माण गर्दागर्दै ठेकेदार कमल भट्ट विगत दुई वर्षदेखि बेपत्ता भएका हुन् ।

चितवनको एडभेन्चर कन्सट्रक्सन कम्पनीले साढे १० करोड लागतमा २०७७ असार मसान्तमा काम सम्पन्न गर्ने गरी ठेक्का लिएको थियो । तर, ठेकेदार नै बेपत्ता भएपछि पुलको काम अलपत्र परेको हो ।

पुलको काम गर्दागर्दै ठेकेदार बेपत्ता भएपछि स्थानीयलाई आवतजावतमा समस्या भएको कावासोती नगरपालिका–४ का वडा अध्यक्ष नारायण लोहानीले बताउनुभयो । सडक डिभिजन कार्यालय भरतपुर चितवनका इन्जिनियर राजेन्द्र महर्जनले ठेकेदारलाई चाडो काम सक्न ताकेता गरेर यसै साता पत्राचार गरिएको जानकारी दिनुभयो ।

पुल निर्माण सम्पन्न नभएपछि दुई पटक म्याद थप भईसकेको छ । पछिल्लो पटक गत असोजसम्मको म्याद थपिएको र त्यस भित्रपनि काम हुन नसकेको इन्जिनियर महर्जनले बताउनुभयो । इन्जिनियर महर्जनले काम गर्ने ठेकेदारले आर्थिक कारण देखाएर काममा ढिलाई गरेको बताउनुभयो । 


प्रतिक्रिया