हिमाल आरोहणलाई व्यवस्थित गर्नुपर्ने विज्ञको सुझाव

चैत्र ३०, २०७९ | काठमाडौं

हिमाल आरोहणका लागि वसन्त ऋतु उपयुक्त समय मानिन्छ । वसन्त ऋतृ सुरु भएसँगै हिमाल आरोहणका लागि सयौं संख्यामा पर्यटक नेपाल भित्रिने गरेका छन् । कोरोना महामारीको चपेटामा परेको पर्यटन क्षेत्र बिस्तारै लयमा फर्किदै गर्दा हिमाल आरोहणका लागि अनुमति लिनेको संख्या बढेको छ । 

सम्बद्ध अधिकारीहरुका अनुसार, यो सिजनमा हिमाल आरोहणका लागि आउने मध्ये धेरैको रोजाइ फेरि पनि सगरमाथा नै परेको छ । त्यसैले हिमाल आरोहणलाई थप व्यवस्थित गर्नुपर्ने विज्ञहरुले सुझाव दिएका छन् ।

नेपालमा पर्वतारोहण सन् १९५० बाट सुरु भएको थियो । सन् १९५० को जुन ३ मा फ्रान्सेली नागरिक मौरिस हर्जोगले नेपालको पश्चिमी भागमा अवस्थित हिमाल अन्नपूर्ण फस्टको सफल आरोहण नै नेपालमा ८ हजार मिटर अग्ला हिमालको पहिलो आरोहणको रुपमा चिन्निन्छ । ८ हजार ८१ मिटर उचाइको सो हिमाल विश्वको दशौं अग्लो शिखर समेत हो । त्यसको तीन वर्षपछि सन् १९५३ को मे २९ मा विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा न्यूजिल्याण्डका नागरिक सर एडमन हिलारी र नेपाली नागरिक तेन्जिङ नोर्गे शेर्पाले पाइला टेके । 

सगरमाथाको सफल आरोहण गरेपछि नेपालमा पर्वतारोहणको गतिविधि बढ्न थालेको जानकारहरु बताउँछन् । सर एडमन हिलारी र तेन्जिङ नोर्गे शेर्पाले सगरमाथाको सफल आरोहण गर्नुअघि सन् १९२२ मा सात जना शेर्पाहरुले आरोहणकै क्रममा ज्यान गुमाएका थिए । त्यसलाई नै पर्वतारोहणको इतिहासमा सगरमाथा आरोहणको क्रममा मृत्यु भएको पहिलो घटनाको रुपमा हेर्ने गरिएको छ । अहिलेसम्म ७ हजार भन्दा बढी आरोहीले सगरमाथाको आरोहण गरेको पर्यटन विभागको तथ्याङ्क छ ।

त्यस्तै, अन्नपूर्ण फस्ट सन् २०२१ सम्म मात्र ३ सय ७७ जनाले आरोहण गरेको सरकारी तथ्याङ्क छ । अन्यमा कञ्चनंघामा सन् २०२१ सम्म ४ सय ६१ जनाले आरोहण गरेको तथ्याङ्क पर्यटन विभागको छ । सगरमाथा बाहेका ८ हजार भन्दा अग्ला हिमालको आरोहण गर्नेको संख्या कुल गरेर अन्नपूर्ण फस्ट र कन्चनजङ्गा समेत गरी ४ हजार ६ सय ५३ पुग्छ । सो संख्या अहिलेसम्म सगरमाथा मात्रै आरोहण गर्ने भन्दा २ हजार ३ सय ४७ ले कम हो । 

राज्यले सबै हिमालहरुको प्रचारप्रसार नर्गदा कुनै हिमालमा पर्वतारोण गर्नेको संख्या बढी र कुनैमा कम भएको नेपाल पर्वतारोहण संघ गण्डकी प्रदेशका अध्यक्ष शेषकान्त शर्माले बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘कुनै हिमालमा अत्याधिक भिडभाड हुने, कुनै हिमालमा आरोहणको गतिविधि एकदमै कम हुने । सगरमाथामा अत्याधिक भिड हुन्छ तर अन्नपूर्णमा सीमित आरोही मात्र आरोहणका लागि आउने गर्छन् । अहिलेको चुनौतीका रुपमा राज्यले सबै हिमालको प्रचारप्रसार उचित नगरेका कारणले अन्नपूर्ण र धैलागिरि जस्ता हिमाल ओझलमा परेको छ ।’

हिमाल आरोहण गर्न केही रकम रोयाल्टी स्वरुप नेपाल सरकारलाई तिर्नुपर्ने हुन्छ । जसमा सगरमाथाको हकमा एउटा समूहले इजाजत पत्रको लागी मात्रै सरकारलाई ५० हजार बुझाउनुपर्ने हुन्छ । सन् २०२० को कोरोना कहरका बेला समेत शिशिर ऋतृमा करीब ८ ओटा हिमालबाट रोयाल्टी मार्फत १० लाख २५ हजार ४ सय ५ रुपैयाँ संकलन भएको पर्यटन विभागको तथ्याङ्क छ । 

त्यस्तै सोही वर्षको शरद ऋतमा करीब ५ हिमाल मार्फत ४० लाख ६३ हजार ४ सय ७४ रुपैयाँ रोयाल्टी मार्फत संकलन भएको थियो । सन् २०२१ मा नेपालका हिमाल मार्फत ५९ करोड ६१ लख १२ हजार ३ सय १ रुपैयाँ राज्स्व संकलन भएको सरकारी तथ्याङ्क छ । सरकारले सन् २०२३ को अप्रिल ७ सम्म विभिन्न हिमालबाट रोयाल्टी मार्फत २७ करोड ९५ लाख २२ हजार ३ सय २१ रुपैयाँ संकलन गरिसकेको छ । तर, पर्वतारोहण क्षेत्रबाट उठेको रकमको थोरै हिस्सा समेत पर्वतारोहण प्रवर्धनका लागि सरकारले नछुटाएको नेपाल पर्वतारोहण संघका पूर्व अध्यक्ष सन्तविर लामाले बताउनुभयो ।

लामाले भन्नुभयो, ‘हिमाल आरोहण बापत उठेको रकमको केही हिस्सा पर्वतारोहण प्रवर्धनका लागि सरकारले छुट्याउनु पर्छ । सरकारले अहिलेसम्म हिमालबाट कति रकम उठ्यो त्यसको लेखाजोखा गरेको छैन ।’

हिमाल आरोहणको सिजन चलिरहँदा सन् २०२३ को अप्रिल ७ सम्म सबै भन्दा बढी ४३ भारतीय आरोहीले आरोहण अनुमती प्राप्त गरेका छन् । भारतपछि क्यानडाका २८ र चीनका २७ जनाले नेपाली हिमालको आरोहण अनुमति प्राप्त गरेको विभागको तथ्याङ्क छ । 

हिमाल आरोहणमा स्वदेशी र विदेशी दुवैको आकर्षण बढेपनि यसका लागि अझै पनि प्रभावकारी कानून बन्न नसकेको जानकारहरुको भनाइ छ । पर्वतारोहण क्षेत्रका जानकार कृष्ण केसीले भन्नुभयो, ‘सरकारसँग हिमाल नीति छैन । सरकार हिमाल चढ्न आउनेसँग पैसा उठाएर ढंग परेको र हिमाल आरोहीसँग उठाएको पैसाले मात्रै पर्यटन क्षेत्रको विकास हुन्छ भन्ने भ्रममा सरकार रहेको केसीको भनाइ छ ।’

पर्वतारोहण शाहसिक गतिबिधि मात्र नभई नेपालमा पर्यटनको मुख्य आकर्षणको रुपमा समेत रहेको छ । पर्वतारोहण गर्न अन्य पर्यटकीय गतिबिधि भन्दा बढी खर्च लाग्ने भएकाले देशमा भित्रिने विदेशी मुद्रामा पनि वृद्धि हुने भनाइ व्यवसायीहरुको छ । पर्वतारोहण गर्नका लागि खर्चालु पर्यटक आउने भएकाले आरोहीको संख्या वृद्धि गर्न सरकार केन्द्रित हुनुपर्ने नेपाल पर्वतारोहण संघ गण्डकी प्रदेशका अध्यक्ष शर्माले बताउनुभयो ।

‘एउटा सगरमाथा बेस क्यापसम्म पुगेर ट्रेकिङ गर्ने पर्यटकले ३ हजार डलर खर्च गर्छ भने त्यहिँ सगरमाथा चढ्ने आरोहीले ३० हजार अमेरिकी डलर खर्च गर्छन्’, उहाँले भन्नुभयो, ‘त्यसकारण हामीले पर्वतारोहण गर्ने पर्यटकको संख्या बढाउन सके समग्र नेपालको अर्थतन्त्रमा टेवा पुग्छ भन्ने हो ।’

सरकारी तथ्याङ्कलाई हेर्दा पछिल्लो पटक ६१ राष्ट्रका ४ सय ४३ जनाले विभिन्न हिमाल आरोहण अनुमति प्राप्त गरेका छन् । जसमध्ये ९१ महिला र ३ सय ५२ पुरुष रहेका छन् । नेपालको हिमालहरु मध्ये सगरमाथाबाट सबै भन्दा बढी रोयल्टी संकलन हुँदै आएको छ । 

गत अप्रिल ७ सम्म सो हिमाल आरोहणको अनुमतिबाट राज्यले २४ करोड २६ लाख ९९ हजार २ सय ५६ रुपैयाँ संकलन गरेको छ । सन् २०२१ मा ४ सय ९ जनालाई पर्यटन विभागले सगरमाथा आरोहणको अनुमति दिएको थियो भने सन् २०२२ मा ३ सय २५ जनाले मात्र आरोहण अनुमति लिएका थिए । सम्वद्ध अधिकारीहरुका अनुसार यो सिजनमा झण्डै ५ सय आरोहीले सगरमाथा चढ्न प्रयास गर्ने देखिएको छ । 


प्रतिक्रिया