महेन्द्र राजमार्ग बिस्तार कछुवा गतिमा

वैशाख १४, २०८० | पूर्वी नवलपरासी

महेन्द्र राजमार्ग अन्तरगत पूर्वी नवलपरासीको हर्कपुर खण्डमा थप साढे २ किलोमिटर सडक पिच भएको छ । कावासोतीबाट नारायणगढ तर्फ जादा राजमार्गको दाया तर्फको साढे १० मिटर फराकिलो सडक फाइनल पिच भएको हो ।

सडकका कल्सल्टेन्ट इन्जिनियर राकेश झाका अनुसार भेडावारीदेखि हर्कपुर चोकसम्मको करिब साढे २ किलोमिटर पक्की सडक निर्माण भएको छ । अब ५, ६ दिनभित्र साढे दुई किलोमिटर फाइनल करिब १० सेन्टीमिटर वाक्लो पिच सकिन्छ । त्यहा गत बिहिबार पिच गरिएको हो । सो फाइनल पिच सकेर त्यसदेखि पश्चिम तर्फ नयाँ पिच गरिने उहाँले जानकारी दिनुभयो । अबको १५ दिनमा थप ३ किलोमिटर पिच सकिने र त्यसपछि सदरमुकाम कावासोतीको जंगलमा काम शुरु हुने झाले जानकारी दिनुभयो ।

महेन्द्रराजमार्ग फराकिलो पार्ने ठेक्का लिएको चिनिया ठेकेदार कम्पनी चाइना स्टेट इन्जिनियरिंग कर्पोरेशनले ठेक्का लिएको चार वर्षको अबधिमा दाउन्ने गैडाकोट खण्डमा कूल एक तर्फी करिब ६ किलोमिटर सडक कालोपत्रे गरेको हो ।

दाउन्ने गैडाकोट खण्डमा ठुला र साना पुल निर्माणको काम कछुवा गतिमा छ । चिनिया ठेकेदार कम्पनिले बुटवल नारायणगढको १ सय १४ किलोमिटर सडक बिस्तारको काम १७ अर्बमा ठेक्का लिएको हो ।

गत साउन २२ गते सडक निर्माण सकेर सडक हस्तान्तरण गर्नपर्ने सम्झौता भएपनि काम पुरा हुन सकेको छैन । गत साउनबाट सडक निर्माणको समय अबधि एक वर्ष थप गरिएको छ । गत साउन यता करिब १० महिनाको अवधिमा थप २ प्रतिशतमात्र सडक बिस्तार कार्य प्रगति छ ।

काम शुरु गरेदेखि वैशाख दोश्रो सातासम्म सडक बिस्तारको कार्यप्रगति २६ प्रतिशत मात्र छ । रामजार्गमा डाइभर्सन गर्न भत्काइएको स्थानमा धुलैधुलोले यात्रा कष्टकर छ । राजमार्ग बिस्तारको क्रममा धुलो उडन नदिन नियमित पानीले भिजाउन पर्ने भएपनि ठेकेदार कम्पनीले पानी नहाल्दा राजमार्ग धुलाम्य छ ।


प्रतिक्रिया