बाघको आक्रमणबाट बर्दियामा एक महिलाको मृत्यु
पुस २८, २०८१ | बर्दिया
बर्दियाको बकुवास्थीत सामुदायिक वनमा बाघको आक्रमणमा परि आज एक महिलाको ज्यान गएको छ ।
राष्ट्रिय निकुञ्ज अन्तर्गत ठाकुरबाबा नगरपालिका–६ बकुवाको मध्यवर्ती सामुदायिक वनमा पाटे बाघको आक्रमणबाट सोही स्थानकी ४० वर्षीया पदमकला थापाको मृत्यु भएको हो । थापालाई बाख्रा चराउन जाँदा बाघले आक्रमण गरेको निकुञ्जका वरिष्ठ प्रमुख संरक्षण अधिकृत अशोक रामले बताउनुभयो ।
बाघको आक्रमणपछि वनमा गएका अन्य गोठालाहरुले भागेर ज्यान बचाएको उहाँको भनाई छ । बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा यो वर्ष पहिलो पटक बाघले आक्रमण गरेको प्रमुख संरक्षण अधिकृत रामले बताउनुभयो ।