भैरहवा भन्सार नाकामा सर्वसाधारणलाई कडाई

जेष्ठ २०, २०८० | रुपन्देही

रुपन्देहीको भैरहवा भन्सार नाकामा सर्वसाधारणलाई कडाई गर्न थालिएको छ । सिमावर्ती भारतीय बजारमा खरिद गरेका सामान भन्सार नतिरी नेपाल भित्रिन नदिन भैरहवा भन्सार नाकामा कडाइ गर्न थालिएको हो । घरायशी प्रयोजनका नाममा किनमेलका लागि दैनिक हजारौं नेपाली उपभोक्ता सिमावर्ती बजार सुनौली, नौतनवा पुग्ने र उनीहरुले बिना भन्सार सामान नेपाल भित्र्याउँदा स्वदेशी बजार प्रभावित भएपछि सीमा नाकामा कडाइ गर्न थालिएको भैरहवा भन्सार कार्यालयले जनाएको छ ।

कार्यालयका प्रमुख मनिराम पौडेलले सिमावर्ती भारतीय बजारमा गई किनमेल गरी नेपाल ल्याइएका सम्पूर्ण सामानलाई भन्सारको यात्रु शाखाबाट भन्सार तिराएर मात्रै छाड्न थालिएको बताउनुभयो । बिना भन्सार सामान भित्रिन नदिन भन्सार नाकामा नेपाल प्रहरी, शसस्त्र प्रहरी र भन्सारका कर्मचारी परिचालित छन् । कार्यालयका अनुसार १ सय रुपैयाँ भन्दा धेरै मूल्यको कुनैपनि समान ल्याउँदा भन्सार तिर्नुपर्ने कानूनी प्रावधान छ । 


प्रतिक्रिया