भैरहवा भन्सारको राजश्व असुली आधाले घट्यो

श्रावण २, २०८० | भैरहवा

गत आर्थिक वर्ष २०७९/०८० मा भैरहवा भन्सार कार्यालयको राजश्व असुली आधाले घटेको छ । मुलुकै दोस्रो ठूलो भैरहवा भन्सार कार्यालयले आर्थिक वर्ष २०७९/०८० मा १ खर्ब ५५ अर्ब रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य राखेकोमा ७७ अर्ब रुपैयाँ मात्र असुली गरेको छ । यो लक्ष्यको ४९ दशमलव ४१ प्रतिशत मात्र हो । 

आर्थिक मन्दीले आयात कम हुनु र सरकारको अन्य नीतिगत राजश्व प्रभावित हुनुको मुख्य कारण मानिएको छ । भैरहवा भन्सार कार्यालयका प्रमुख मनिराम पौडेलले राजश्व दिने वस्तुकै आयात घटेको र अघिल्लो आर्थिक वर्षमा भएको असुलीको तुलनामा राजश्व संकलनको लक्ष्य निर्धारण पनि बढी भएको बताउनुभयो । 

‘०७९ को बैशाखदेखि मंसिरसम्म साना गाडीको आयातमा सरकारले रोक लगाएपछि गाडी भित्रिएन, तर लक्ष्य यथावत् नै रह्यो’, पौडेलले भन्नुभयो, ‘बढी राजश्व दिने डिजेल पेट्रोल, फलामे बिलेट र अन्य व्यापारिक वस्तुको पनि आयात घटेको छ ।’ 

भैरहवा भन्सार कार्यालयका प्रमुख पौडेलका अनुसार यी वस्तुको आयात घट्नुमा आर्थिक मन्दी र केही नीतिगत कारण नै हुन् । साना सवारी साधन, फलामे एमएस ब्लेड र पेट्रोलियम पदार्थको आयातबाट भैरहवा भन्सारले कुल राजश्व संकलनमा करीब २५ प्रतिशत योगदान रहने गर्छ । 

भैरहवा भन्सारमा जिप कार भ्यान, मोटरसाइकल, पिकअप तथा डेलिभरी भ्यान, एमएस ब्लेड, पेट्रोल, ग्लेज टायल, डिजेल, एलपी ग्यास, मार्वल र मोबाइल राजश्व धेरै दिने प्रमुख आयातित वस्तु हुन् । 

भन्सार कार्यालयको तथ्याकं अनुसार अघिल्लो आर्थिक वर्ष २०७८/०७९ जिप कार भ्यान, मोटरसाइकल, पिकअप तथा डेलिभरी भ्यान, एमएस ब्लेड, पेट्रोल, ग्लेज टायल, डिजेल, एलपी ग्यास, मार्वल र मोबाइलको आयातबाट ६७ अर्ब ९५ करोड रुपैयाँ राजश्व संकलन भएको थियो । आर्थिक वर्ष २०७९/०८० मा यी वस्तुको आयात घट्दा भन्सार कार्यालयले ३० अर्ब ७२ करोड रुपैयाँ मात्र राजश्व उठाएको छ । 


प्रतिक्रिया