'नाडा अटो शो' भदौ २६ गतेदेखि, १२० वटा स्टल रहने

भाद्र ११, २०८० | काठमाडौं

यही भदौ २६ गतेदेखि काठमाडौंको भृकुुटीमण्डपमा 'नाडा अटो शो २०२३' आयोजना हुने भएको छ । नाडा अटोमोबाइल्स एसोसियसन अफ नेपालले काठमाडौंमा सोमबार पत्रकार सम्मेलन गरी आगामी २६ देखि ३१ गतेसम्म 'नाडा अटो शो' आयोजना हुने जानकारी दिएको हो । 

प्रदर्शनीमा ठूला तथा साना गरी करीब १ सय २० वटा स्टल रहने आयोजकले जनाएको छ । अन्तर्राष्ट्रिय ब्राण्डका सवारी साधन, लुब्रिकेन्ट, टायर, पार्टपुर्जा पनि प्रदर्शनीमा राखिने नाडा अटो शो समितिका सभापति अनुप कुमार बरालले जानकारी दिनुभयो । राष्ट्रिय ब्राण्डका अटो सामग्री उत्पादक र वस्तु तथा सेवा प्रदायकहरुको सहभागिता रहने उहाँले बताउनुभयो ।

प्रदर्शनीमा १६ वटा ब्राण्डका चार पाङग्रे, २२ वटा ब्राण्डका दुई पाङग्रे, ७ वटा ब्राण्डका लाइट कमर्शियल भेहिकल प्रदर्शनीमा राखिने छन् । यस्तै, ९ वटा वित्तीय संस्था तथा ३० वटा लुब्रिकेन्ट, टायर, ब्याट्री, पार्टपुर्जा एवं ग्यारेज उपकरण कम्पनीहरुको सहभागिता रहने नाडाले जनाएको छ । 

प्रदर्शनीको शीर्ष प्रायोजक टाटा मोटर्स जेनुइन आयल रहेको छ भने सह–प्रायोजकमा शिखर इन्सुरेन्स् कम्पनी लिमिटेड रहेको छ । यसैगरी प्रदर्शनीको डोर प्राइजमा याडिया, टिकटिङ्ग पार्टनरमा खल्ती, अफिसियल इन्टरनेट पार्टनरमा वर्ल्डलिंक, फायर सेˆटी सपोर्टमा हिटको प्रालि एवं हस्पिटल पार्टनरमा फ्रन्टलाइन हस्पिटल लगायत संस्था रहेका छन् । 

यो वर्षको प्रदर्शनीमा सहभागी भएका एक जनालाई लक्की ड्रबाट याडियाको इलेक्ट्रिक स्कूटर प्रदान गरिने आयोजकले जनाएको छ । प्रदर्शनीले सवारी साधनलाई विलासिता मात्र नभई, आम सर्वसाधारणको जीविकोपार्जनका लागि चाहिने अत्यावशक साधनको रुपमा चित्रण गर्न सहयोग पुग्ने आयोजकको विश्वास रहेको छ । ६ दिनसम्म चल्ने नाडा अटो शोमा ७५ हजार बढी आगन्तुकहरुले अवलोकन गर्ने अपेक्षा आयोजकको रहेको छ ।


प्रतिक्रिया