तिलोत्तमाका ४ हजार बढी पशुलाई लम्पी स्किन विरुद्धको खोप

आश्विन ८, २०८० | तिलोत्तमा

रुपन्देहीको तिलोत्तमा नगरपालिकामा लम्पी स्किन विरुद्धको खोप अभियान सम्पन्न भएको छ । नगरभित्रका ४ हजार ७ सय ४८ पशुलाई खोप लगाई अभियान सम्पन्न गरिएको तिलोत्तमा नगरपालिकाको पशु शाखाकी प्रमुख डा. ऊर्जा देवकोटाले बताउनुभयो । 

नगरपालिकाले गत साउन २१ गतेदेखि पशुमा लम्पी स्किन विरुद्धको खोप लगाउन सुरु गरेको थियो । नगरभित्र ५ हजार ९३ वटा गाई गोरु रहेकामा ४ हजार ७ सय ४८ पशुमा भ्याक्सिन लगाइएको पशु शाखाकी प्रमुख डा. देवकोटाले जानकारी दिनुभयो । 

‘गर्भवती अवस्थामा रहेका गाईलाई भने खोप लगाइएको छैन’, उहाँले भन्नुभयो, ‘संक्रमित पशुको संख्या भने ८ सय ३६ मात्र रहेको थियो । हाल उपचाररत पशुको संख्या ४४ रहेको र १ सय ६ गाई गोरु लम्पी स्किन रोगबाट मरेको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले समयमा खोप दिइएकाले धेरै पशुको जीवन रक्षा गर्न सकिएको बताउनुभयो । 

नगरपालिका भित्रका पशुमा देखिएको लम्पी स्किन रोग नियन्त्रणका लागि आर्थिक वर्ष २०८०/८१ को बजेटमा २० लाख रुपैयाँ विनियोजन गरिएकोमा १० लाख रुपैयाँ मै खोप अभियान सम्पन्न भएको उहाँले बताउनुभयो । रुपन्देही जिल्लामा सबै भन्दा धेरै पशुमा खोप लगाउने नगरपालिका तिलोत्तमा रहेको अर्यालले बताउनुभयो ।

सम्बन्धित समाचार :
* तिलोत्तमामा लम्पी स्किनविरुद्धको नि:शुल्क खोप अभियान सुरु


प्रतिक्रिया