दुग्ध विकास बोर्डले किसानलाई ३ अर्ब बढी भुक्तानी गर्न बाँकी

मंसिर २१, २०८० | काठमाडौं

राष्ट्रिय दुग्ध विकास बोर्डले किसानहरुलाई ३ अर्ब रुपैयाँ बढी रकम भुक्तानी गर्न बाँकी रहेको जनाएको छ ।

जसका कारण दुधजन्य पदार्थको उत्पादनमा आश्रित ३० लाख परिवार प्रभावित भएका छन् । किसानले उत्पादन गरेका दुग्धजन्य पदार्थको विक्री हुन नसकेपछि भुक्तानी दिन नसकिएको बोर्डका कार्यकारी निर्देशक राजेन्द्र प्रसाद यादवले बताउनुभयो ।

निजी डेरीले २ अर्ब ५० करोड रुपैयाँ भन्दा बढी र सरकारी स्वामीत्वमा रहेको डिडिसीले १ अर्ब रुपैयाँ रकम दुध किसानलाई भुक्तानी गर्न बाँकी छ । किसानले उत्पादन गरेको दुधको १५ दिनमा भुक्तानी गर्नुपर्ने प्रावधान छ ।

पाउडर दुध, बटर, घ्यू लगायत करिब ७ अर्ब रुपैयाँ बराबरको पदार्थ विक्रि नभई मौज्दात रहेकाले ३ महिनादेखि भुक्तानी रोकिएको यादवले बताउनुभयो । डिडीसीले भुक्तानी तत्कालै नदिए संघर्षमा उत्रन बाध्य हुने दुग्ध सहकारी महासंघका महासचिव रामप्रसाद आचार्यले चेतावनी दिनुभयो ।

सरकारले सहुलियत कर्जा उपलब्ध गराए मात्रै किसानलाई सबै भुक्तानी दिन सकिने बोर्डको भनाई छ । मुलुकमा वार्षिक २६ लाख मेट्रिक टन दुध उत्पादन हँुदै आएको छ । जसमध्ये ७५ प्रतिशत काठमाडौं उपत्यकामा खपत हुने गरेको छ ।  


प्रतिक्रिया