३.१६ प्रतिशतले बढ्यो मधेश प्रदेशको कृषि उपज क्षेत्रफल

पुस १९, २०८० | काठमाडौं

मधेश प्रदेशमा कृषि उपजले ढाकेको क्षेत्रफल ३ दशमलव १६ प्रतिशतले वृद्धि भएको एक अध्ययनले देखाएको छ । 

राष्ट्र बैंकले सार्वजनिक गरेको मधेश प्रदेशको प्रादेशिक आर्थिक गतिविधि अध्ययन ७९ ÷८० अनुसार मधेश प्रदेशमा खाद्य,तरकारी,फलफूल तथा मसला बालीले ढाकेको क्षेत्रफल ३ दशमलव १६ प्रतिशतले वृद्धि भई १० लाख ३७ हजार ४४ हेक्टर पुगेको छ भने उत्पादन ३ दशमलव २५ प्रतिशतले घटेर ६१ लाख ८२ हजार १ सय ३४ मेट्रिक टन पुगेको छ । 

खेती गरिएको क्षेत्रफल सामान्यतया बढे पनि सिँचाई सुविधा नहुनु मलखाद र बीउ बिजनको सहज उपलब्धता नहुँदा तथा बेमौसमी वर्षातका कारण उत्पादनमा कमी आएको प्रतिवेदनले औंल्याएको छ ।

गत आर्थिक वर्षको सोहि वर्षमा कृषि बालीको क्षेत्रफल ० दशमलव ३ प्रतिशतले घटेर १० लाख ६ हजार ६ सय ८३ हेक्टर पुगेको थियो । प्रमुख खाद्य बाली धान १० दशमलव ६२, मकै ३२ दशमलव ८४, आलु २ दशमलव ६५,गहुँ १ दशमलव ८८, दलहन १५ दशमलव ४७, र तेलहन १९ दशमलव ३५ प्रतिशतले वृद्धि भएसँगै सुर्ती २० दशमलव ५२ र उखु उत्पादन ३३ दशमलव १८ प्रतिशतले घटेको तथ्यांक छ । आर्थिक वर्ष ७९ ÷८० मा पशुजन्य उत्पादन अन्तगर्त दूध १ दशमलव ७० , मासुको १ दशमलव ३७, अण्डा १ दशमलव ८८ र माछा उत्पादनमा ५ दशमलव २७ प्रतिशत वृद्धि भएको अध्ययनले देखाएको हो ।

यस्तै मधेश प्रदेशमा बैंक तथा वितीय संस्थाबाट ५३ अर्ब ९५ करोड रुपैयाँ कृषि क्षेत्रमा कर्जा प्रवाह भएको छ । अघिल्लो वर्ष ४४ अर्ब २८ करोड रुपैयाँ कर्जा प्रवाह भएको थियो । कुल कृषि कर्जा मध्ये सबै भन्दा बढी सर्लाहीमा १६ दशमलव ४७ प्रतिशत र सप्तरीमा कम ७ दशमलव ३ प्रतिशत कर्जा प्रवाह भएको तथ्यांक छ । मधेश प्रदेशमा उद्योगहरुको उत्पादन क्षमता उपयोग औसतमा ५४ दशमलव २४ प्रतिशत हुँदा उत्पादन वृद्धि औसतमा ५ दशमलव २३ प्रतिशत पुगेको प्रतिवेदनले जनाएको हो । त्यस्तै अघिल्लो आर्थिक वर्षमा मधेश प्रदेशबाट श्रम स्वीकृत लिनेको संख्या १ लाख ८१ हजार ६ सय १३ पुगेको राष्ट्र बैंकले जनाएको छ । 


प्रतिक्रिया