लघुवित्त क्षेत्रका समस्या तत्काल समाधान गर्नुपर्छः अर्थमन्त्री महत

फाल्गुन ५, २०८० | काठमाडौं

अर्थमन्त्री डा. प्रकाशशरण महतले लघुवित्त क्षेत्रमा देखिएका समस्या तत्काल समाधान गर्नुपर्ने बताउनुभएको छ ।

काठमाडौंमा आजदेखि सुरु भएको चौंथौ राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन उदघाट्न कार्यक्रममा अर्थमन्त्री महतले यस्तो बताउनुभएको हो ।

नेपालमा विपन्न वर्ग, गरिब र महिलाको आय आर्जन र क्षमता विकासमा लघुवित्तको योगदान धेरै रहेकाले यो क्षेत्रमा देखिएको समस्या छिटो समाधान गरेर अघि बढ्नुपर्ने उहाँले जोड दिनुभयो ।

‘स्वस्थ लघुवित्त, समृद्ध सदस्य’ नारासहित सुरु भएको सो सम्मेलनको उद्घाटन गर्दै अर्थमन्त्री महतले लघुवित्तकै कारण नेपालका दूरदराजका नागरिक समक्ष वित्तीय पहुँच र जीविकोपार्जनमा योगदान पुगेको बताउनुभयो ।

७७ वटै जिल्लामा फैलिएका लघुवित्तले गाउँगाउँका नागरिकमा बचत र ऋण परिचालनको ज्ञान समेत दिएको अर्थमन्त्री महतको भनाई थियो । उहाँले गरिबीलाई शून्यमा झार्ने, स्थानीय स्तरमा लघुउद्यम र स्वरोजगार बनाउने तथा स्थानीय अर्थतन्त्रलाई राष्ट्रिय अर्थतन्त्रमा जोड्न धेरै सहयोग पुगेको बताउनुभयो । 


प्रतिक्रिया