चैत २३ बाट ८ औं लमजुङ महोत्सव हुने

लमजुङ महोत्सवबारे लमजुङ उद्योग बाणिज्य संघले बेंसीसहरमा आयोजना गरेको पत्रकार सम्मेलन । तस्बिरः आश गुरुङ्ग कान्तिपुर । 

फाल्गुन २४, २०८० | लमजुङ

लमजुङको बेंसीसहरमा ८ औं संस्करणको लमजुङ महोत्सव हुने भएको छ ।

सदरमुकाम बेंसीसहरस्थित सहजी खेलमैदानमा आगामी चैत २३ देखि बैशाख ३ गतेसम्म महोत्सवको गर्न लागिएको आयोजक लमजुङ उद्योग बाणिज्य संघले बिहीबार पत्रकार सम्मेलनमार्फत जनाकारी गराएको हो ।

महोत्सव सञ्चालनका लागि बाणिज्य संघका अध्यक्ष भरतकुमार श्रेष्ठको संयोजकत्वमा ३ सय १ सदस्यीय मूल आयोजक समिति गठन समेत गरिएको छ । यस्तै, अन्य ३ वटा समिति र उपसमितिहरु गठन गरिएका छन् । महोत्सवमा २ सय व्यापारिक स्टल राखिने आयोजकले जनाएको छ ।

महोत्सवमा नेपाल र छिमेकी राष्ट्रका औद्योगिक, स्थानीय, प्रादेशिक तथा राष्ट्रिय व्यापारिक प्रतिष्ठान, साँस्कृतिक तथा कृषि सम्बन्धि, सरकारी तथा गैरसरकारी संघसंस्थाहरु, अलैंची, कफी, चिया, मह लगायत उत्पादनको प्रदशनी गरिने छ ।

सुस्ताएको पर्यटन व्यवसायलाई पुनरुत्थान, कृषि, पशुपालन र जडिबुटी प्रवद्र्धन, स्थानीय उद्योग, व्यापार, स्थानीय परम्परागत सीप र प्रविधिको प्रवद्र्धन, कला संस्कृतिको जगेर्ना, होमस्टेको प्रवद्र्धन, सामाजिक सेवामा सहयोगलगायत उद्देश्य राखेर महोत्सव गर्न लागिएको हो ।

११ दिन सम्म सञ्चालन हुने महोत्सव गर्न ९५ लाख २० हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । महोत्सवमा २ लाख दर्शक सहभागी हुने अयोजकको अपेक्षा छ ।



प्रतिक्रिया