जुम्लाको गाउँपालिकाको कार्यालय परिसरमै स्याउ बगैंचा

फाल्गुन २७, २०८० | जुम्ला

जुम्लाको तातोपानी गाउँपालिकाले कार्यालय परिसरमा स्याउ बगैंचा निर्माण गरेको छ । कार्यालय वरिपरि खाली रहेको झण्डै तीन हजार वर्गमिटर जग्गामा स्याउ बगैंचा निर्माण गरिएको हो । 

बगैंचामा पहिलो चरणमा ६५ वटा स्याउका बिरुवा रोपिएको गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईले जानकारी दिनुभयो । सो बगैंचालाई पालिका भित्रको नमूना बगैंचा बनाएर किसानहरुलाई स्याउ खेतीमा हौसला प्रदान गर्ने उद्देश्य रहेको उहाँको भनाई छ । 

प्रमुख प्रशासकीय अधिकृत तीर्थबहादुर कठायतले कार्यालय परिसरमै स्याउको बगैंचा स्थापना हुँदा जुम्ली स्याउको व्यापक प्रचारप्रसार हुने र बजारीकरणमा समेत टेवा पुग्ने बताउनुभयो ।

बगैंचालाई पालिका भित्रका स्याउ किसानहरुको तालिम केन्द्रको रुपमा विकास गर्ने तयारी गरिएको समेत गाउँपालिकाले जनाएको छ । प्रत्यक्ष स्याउका बिरुवासँगै राखेर मलखाद व्यवस्थापन, स्याउ काँटछाँट र माटो परीक्षणका काम हुने गाउँपालिकाको कृषि शाखाले जनाएको छ । 

बगैंचामा रेड, रोयल र गोल्डेन डेलिसियस जातको स्याउका बिरुवा रोपिएको छ । भौगोलिक रुपमा विकट र स्याउको उच्च सम्भावना भएको पालिका भएकोले स्याउ खेतीलाई प्राथमिकताका साथ अघि बढाएको तातोपानीले जनाएको छ । 

आगामी वर्षहरुमा ओखरका बिरुवाहरु समेत रोपिने गाउँपालिकाले जनाएको छ । अहिले किसानहरुको बगैंचामै कृषि प्राविधिकहरु खटाएर स्याउ बगैंचा व्यवस्थापनको कक्ष चलिरहेको छ । अब पालिकाको बगैँचामै किसानहरु बोलाएर प्रशिक्षण दिइने छ । 


प्रतिक्रिया