लघुवित्त वित्तीय संस्था पीडित संघर्ष समितिलाई वार्तामा आउन अर्थ मन्त्रालयको आग्रह

चैत्र १, २०८० | काठमाडौं

अर्थ मन्त्रालयले आन्दोलनरत लघुवित्त वित्तीय संस्था पीडित संघर्ष समितिलाई वार्तामा बोलाएको छ । अर्थमन्त्री वर्षमान पुनको निर्देशनपछि मन्त्रालयले भोलि लघुवित्त पीडितका प्रतिनिधिलाई वार्ताका लागि सिंहदरबारस्थित मन्त्रालयमा बोलाएको हो ।

अर्थ मन्त्रालयद्वारा सह–सहसचिव एवं वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान महाशाखा प्रमुख नारायणप्रसाद रिसाल नेतृत्वमा गठित समितिले पीडितका प्रतिनिधिलाई वार्तामा बोलाएको अर्थमन्त्री पुनको सचिवालयद्वारा जारी प्रेस नोटमा उल्लेख छ ।


मन्त्री पुनले समितिलाई संघर्ष समितिसँग वार्ता गरी उनीहरुका माग सम्बोधन गर्ने उपायसहित प्रतिवेदन बुझाउन निर्देशन दिनुभएको छ । मन्त्रालयले यसअघि नै समस्याको टुङ्गो नलाग्दासम्म लघुवित्तका ऋणिलाई घरघरमा गएर गैरकानूनी रुपमा बलजफ्ती नगर्न लघुवित्त सञ्चालकलाई निर्देशन दिएको थियो ।

मन्त्रालयले प्रचलित कानून तथा नेपाल राष्ट्रबैंकबाट दिइएको नीति निर्देशनविपरीत कार्य गर्ने लघुवित्त वित्तिय संस्थाहरुमाथि छानविन गरी कारबाहीको दायरामा ल्याउन सम्वद्ध निकायलाई आग्रह गरिसकेको छ ।


प्रतिक्रिया