सरकारले ल्याएको बजेट बारे के भन्छन् निजी क्षेत्र ?

जेष्ठ १६, २०८१ | काठमाडौं

सरकारले हिजो सार्वजनिक गरेको आगामी आर्थिक वर्षको वार्षिक बजेट सन्तुलित भएको निजी क्षेत्रले प्रतिक्रिया दिएको छ । सरकारले आगामी आर्थिक वर्षका लागि हिजो १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट विनियोजन गरेको थियो । 

उत्पादन वृद्धि, रोजगारी सिर्जना र पूर्वाधार विकासलाई उच्च प्राथमिकतामा राखेर सरकारले बजेट विनियोजन गरेको छ । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स तथा नेपाल उद्योग परिसंघले सरकारको बजेट यर्थाथपरक र सन्तुलित भएको प्रतिक्रिया दिएका हुन् ।

उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले विद्यमान आर्थिक समस्या समाधान र नयाँ चरणको सुधारका लागि उच्चस्तरीय आयोग गठन गर्ने विषय बजेटमा समेटिएको बताउनुभयो । 

सानो बचतबाट लगानी कम्पनी खोल्ने र विभिन्न क्षेत्रमा लगानी गर्ने कम्पनीलाई प्रवर्धन गर्ने विषय सकारात्मक भएको ढकालको भनाई छ । बजेटको प्रभावकारी कार्यन्वयन हुन सके ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न सम्भव भएको ढकालले बताउनुभयो ।

नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले बजेट बस्तुपरक आएको प्रतिकृया दिनुभयो । आगामी वर्ष आर्थिक सुधारको वर्ष घोषणा गरिनु सकारात्मक भएको अग्रवालको भनाई छ । राजस्व लक्ष्य पनि सन्तुलित हुँदा निजी क्षेत्रमाथि दबाब नपर्ने अग्रवालको भनाई छ । 

यता, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले आफूहरुको धेरै सुझाव समेटिएको भन्दै बजेट यथार्थपरक रहेको बताउनुभयो । निजी क्षेत्रका लागि राजस्वको लक्ष्यले ठूलो सरोकार राख्ने भएकाले बजेट यथार्थपरक रहेको अग्रवालको भनाई छ ।


प्रतिक्रिया