टेलिकमको कुल आय र मुनाफा दुबै घट्यो

श्रावण ३१, २०८१ | काठमाडौं

सरकारी स्वामित्वको दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकमको कुल आय र मुनाफा दुबै घटेको छ । टेलिकमले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८०/८१ को वित्तीय विवरण अनुसार कुल सञ्चालन आय र खुद मुनाफा घटेको हो । 

ओटीटी सेवाको प्रयोगमा भएको वृद्धि, विकट तथा दुर्गम स्थानमा समेत सेवा विस्तार र गुणस्तर सुधारको कार्यमा बढ्दो लागत लगायत कारणले मुनाफा घटेको टेलिकमले जनाएको छ । 

टेलिकमले आर्थिक वर्ष २०८०/८१ मा ६ अर्ब ६१ करोड ७७ लाख ७६ हजार रुपैयाँ मुनाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्ष २०७९/८० मा ७ अर्ब ९२ करोड १ लाख ५५ हजार रुपैयाँ बराबरको मुनाफा कमाएको थियो । अघिल्लो आर्थिक वर्षको तुलनामा कम्पनीको मुनाफमा १६ दशमलव ४४ प्रतिशत अर्थात १ अर्ब ३० करोड २३ लाख रुपैयाँले कमी आएको हो । 

कम्पनीका अनुसार ओटीटी सेवाको बढ्दो प्रयोगका कारण कुल आयमा पनि गिरावट आएको छ । आर्थिक वर्ष २०८०/८१ मा कम्पनीकिो कुल आय ४१ अर्ब ६१ करोड ७१ लाख रुपैयाँ थियो । यो आय अघिल्लो आर्थिक वर्षको तुलनामा ६ दशमलव ३२ प्रतिशत अर्थात २ अर्ब ८० करोड ६५ लाख रुपैयाँले कम हो । 

अघिल्लो आर्थिक वर्ष २०७९/८० मा टेलिकमको आय ४४ अर्ब ४२ करोड ३६ लाख रुपैयाँ थियो । बैंक ब्याजदरमा भएको परिवर्तनका कारण वित्तीय आम्दानी करीब १ अर्ब २९ करोड ७३ लाखले कमी आएको टेलिकमले जनाएको छ । 

ओटीटी सेवाको बढ्दो प्रयोगका कारण अन्तर्राष्ट्रिय सेवाको तथा अन्तरआवद्धता आयमा गत आर्थिक वर्षको तुलनामा करीब १ अर्ब ४३ करोड ८४ लाख रुपैयाँ कमी आएको कम्पनीको दाबी छ । ओटीटी सेवाले कम्पनीको समग्र भ्वाइस र एसएमएस सेवाको आयमा नकारात्मक प्रभाव परिरहेको टेलिकमले जनाएको छ ।

सेवाको दररेट निर्धारण सम्बन्धी नीति तथा नियम परिवर्तन भएको कारणले सेवाको दररेटमा कटौती भई राजश्वमा प्रतिकूल असर परेको तथा सेवा सञ्चालनको लागि आवश्यक ब्याण्डविथ विगत वर्ष भन्दा कम दरमा खरिद गरिएको कारण सेवा सञ्चालन खर्चमा कमी आएको लगायत कारणले मुनाफा घटेको टेलिकमले जनाएको छ ।


प्रतिक्रिया