तिहार सुरु भएसँगै मसलाजन्य सामानको मूल्य उच्च
कार्तिक १४, २०८१ | काठमाडौं
तिहार सुरु भएसँगै बजारमा मसला लगायत सामानको मूल्य आकाशिएको छ । उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरका व्यापारिक केन्द्रमा तिहारका लागि चाहिले मसला लगायत सामानको मूल्य अचाक्ली बढेको उपभोक्ताको गुनासो छ ।
काजु, बदाम, किसमिस, पेस्ता, छोकडा, ओखर लगायतमा प्रतिकेजी एक सयदेखि ५ सय रुपैयाँसम्म मूल्य बढेको छ । दशैं अगाडि काजुको मूल्य प्रतिकेजी १ हजार ५ सय ५० रुपैयाँ रहेकोमा अहिले बढेर २ हजार ५० रुपैयाँ पुगेको छ ।
एक महिनाको अवधिमा काजुको मूल्य प्रतिकेजी ५ सय रुपैयाँले बढेको नेपाल खुद्रा व्यापार संघले जनाएको छ । यस्तै, पेस्ताको मूल्य पनि प्रतिकेजी ३ सय ५० रुपैयाँले बढेर २ हजार ५० रुपैयाँ कायम भएको छ । दशैंअघि पेस्ता केजीको एक हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
बदाम, ओखर, मिक्री र किसमिसको मूल्य पनि प्रतिकेजी एक सय रुपैयाँले वृद्धि भएको नेपाल खुद्रा व्यापार संघको तथ्यांक छ । बजारमा मसलासँगै दियो, पाला, मैनबत्ती लगायत सामग्रीको मूल्य बढेको छ । चाडपर्वको बेला उपभोग्य वस्तुको मूल्य बढेपछि बजार अनुगमन भने प्रभावकारी रुपमा हुन सकेको छैन ।
अनुगमनको जिम्मा पाएको वाणिज्य, आप्रर्ति तथा उपभोत्ता संरक्षण विभागले भने बजारमा निरन्तर निगरानी गरिरहेको भन्दै बढी मूल्य लिने व्यापारीलाई कारबाही गरिएको जनाएको छ । तोकिए भन्दा बढी मूल्य लिनेलाई कारबाही स्वरुप जरिवाना गर्र्दै आएको विभागका निर्देशक डिक बहादुर कार्कीले बताउनुभयो ।