चार महिनामा मुलुकको ब्यापार घाटा साढे चार खर्बभन्दा बढी

मंसिर ८, २०८१ | काठमाडौं

चालू आर्थिक वर्ष २०८१/८२ को पहिलो चौमासिकमा मुलुकको व्यापार घाटा साढे चार खर्ब रुपैयाँ नाघेको छ । भन्सार विभागले सार्वजनिक गरेको गत साउनदेखि कात्तिकसम्मको तथ्यांक अनुसार चार महिनामा ४ खर्ब ६० अर्ब ७१ करोड ७३ लाख रुपैयाँ बराबरको व्यापार घाटा देखिएको छ । 

यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा शून्य दशमलव २६ प्रतिशतले कम हो । गत आर्थिक वर्षको सोही अवधिमा ४ खर्ब ६१ अर्ब ९३ करोड रुपैयाँ बराबरको व्यापार घाटा रहेको विभागको तथ्यांक छ । 

चालू आवको कात्तिक मसान्तसम्ममा विभिन्न मुलुकबाट पाँच खर्ब १३ अर्ब ३८ करोड ८० लाख बराबरको वस्तु आयात भएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा आयात शून्य दशमलव १७ प्रतिशतले बढी हो । 

यस्तै, चार महिनामा ५२ अर्ब ६७ करोड रुपैयाँ बराबरको नेपाली उत्पादन विदेशमा निर्यात भएको हो । निर्यात भने चार दशमलव १६ प्रतिशतले बढेको भन्सार विभागले जनाएको छ । सो अवधिमा कूल पाँच खर्ब ६६ अर्ब पाँच करोड ६७ लाख रुपैयाँको वैदेशिक व्यापार भएको छ ।

नेपालको सबैभन्दा ठूलो वैदेशिक व्यापार साझेदार भारतसँग मात्र चार महिनामा दुई खर्ब ८१ अर्ब ११ करोड ६६ लाख रुपैयाँ घाटा व्यहोरेको छ । कात्तिक मसान्तसम्ममा भारतबाट तीन खर्ब १६ अर्ब ८८ करोड ५३ लाख रुपैयाँ बराबरको वस्तु आयात हुँदा ३५ अर्ब ७६ करोड ८७ लाख रुपैयाँ बराबरको निर्यात भएको छ ।

त्यस्तै, नेपालको अर्को ठूलो वैदेशिक व्यापार हुने मुलुक चीनसँग एक खर्ब तीन अर्ब १८ करोड २५ लाख रुपैयाँको आयात र ६८ करोड २३ लाख ७७ हजार रुपैयाँको निर्यात हुँदा एक खर्ब दुई अर्ब ५० करोड रुपैयाँको व्यापार घाटा देखिएको छ । 

पहिलो चौमासिकमा पेट्रोलियम पदार्थको आयात सबैभन्दा धेरै देखिएको छ । कात्तिक मसान्तसम्ममा २९ अर्ब चार करोड २० लाख रुपैयाँ बराबरको डिजेल, २१ अर्ब ५६ करोड २९ लाख बराबरको पेट्रोल र १८ अर्ब ८५ करोड ९३ लाख रुपैयाँ बराबरको एलपी ग्यास आयात भएको छ । 

बढी निर्यात भएका वस्तुमा भने कार्पेट पहिलो स्थानमा देखिएको छ । चार महिनामा तीन अर्ब ६० करोड आठ लाख रुपैयाँ बराबरको कार्पेट निर्यात भएको छ । 


प्रतिक्रिया