माघ महिनामा १ अर्ब रुपैयाँ बढीको वैदेशिक लगानी प्रतिबद्धता

फाल्गुन १, २०८१ | काठमाडौं
उद्योग विभागले चालु आर्थिक वर्षको सात महिनामा १ अर्ब रुपैयाँ भन्दा बढीको वैदेशिक लगानीको प्रतिबद्धता आएको जनाएको छ । जुन अघिल्लो महिनाको तुलनामा ३ अर्ब ९३ करोड ३८ लाख रुपैयाँ बराबर कम हो ।
गत महिना ४ अर्ब ९९ करोड ९१ लाख रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको थियो । विभागका अनुसार माघ महिनामा १ अर्ब ६ करोड ५२ लाख रुपैयाँ बराबर ३२ वटा परियोजनहरु दर्ता भएका छन् । जसमध्ये सबैभन्दा बढी पर्यटन क्षेत्रमा तथा सबै भन्दा कम पूर्वाधारतर्फ परियोजना दर्ता भएको उद्योग विभागको तथ्याङ्क छ ।
सो उद्योगहरु कार्यान्वयनमा आएमा ६ सय ९८ जनाले रोजगारी पाउने विभागले उल्लेख गरेको छ । त्यस्तै चालु आर्थिक वर्षको हालसम्म २६ अर्ब ८४ करोड १७ लाख रुपैयाँ बराबरको ३ सय ८६ वटा परियोजना दर्ता भएका छन् । विभागका अनुसार माघ महिनामा ३० वटा साना उद्योग र २ वटा मझौला उद्योग दर्ता भएका हुन् ।