लुम्बिनीका उद्यमी महिलाका लागि दुई दिने प्रशिक्षक प्रशिक्षण

जेष्ठ ३, २०८२ | तिलोत्तमा

उद्यमी महिलाहरुलाई लक्षित गर्दै रुपन्देहीको तिलोत्तमामा लुम्बिनी प्रदेशस्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम सुरु भएको छ । वुमन एक्टको आयोजनामा लुम्बिनी प्रदेशका ८ वटा स्थानीय तहका महिला उद्यमीहरुको सहभागितामा प्रशिक्षण सुरु भएको हो । उद्यमी महिलालाई प्रशिक्षण दिई नयाँ उद्यमी उत्पादन गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको आयोजकले जनाएको छ ।

लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका ८ स्थानीय तहका महिला उद्यमीहरु रुपन्देहीको तिलोत्तमामा प्रशिक्षणमा व्यस्त छन् । आफूले सिक्ने र अरुलाई सिकाउने उद्देश्यले उनीहरु दुई दिने प्रशिक्षक प्रशिक्षणमा भेला भएका हुन् । उद्यमी महिलाहरुले उत्पादन गरेका वस्तुको बिक्री वितरण र ती उत्पादन चिनाउने कार्यक्रमको माध्यम रुपमा पनि यस प्रशिक्षणलाई लिइएको छ । 

यस्ता तालिमले महिलालाई अघि बढ्न हौसला प्रदान गर्ने, क्षमता बिकास गर्ने, उद्यमशिलता फस्टाउने र बजारीकरण गर्न सहज हुने तिलोत्तमा नगरपालिकाले जनाएको छ । महिलामैत्री पालिका बन्ने तयारीमा रहेकाले पनि विभिन्न संस्थाले महिलासँग सम्बन्धित कार्यक्रम गरिदिँदा आफूहरुलाई झनै सरल भएको र महिलाको विकासमा टेवा पुगेको तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँणले बताउनुभयो ।

महिलालाई उद्यमी बनाउन पालिकाले समेत लगानी गरेर सीप विकास, उद्यमी तालिम दिइरहेको छ । तालिमबाट बढी भन्दा बढी महिलाले स्वावलम्बनको बाटो रोज्नुपर्ने नगरपालिकाले जनाएको छ । आत्मनिर्भर महिलाले आर्थिक रुपमा सबल भए कसैसँग हात फैलाउन नपर्ने बरु घरको सम्पूर्ण जिम्मेवारी एक्लै पूरा गर्न सक्ने भएकाले पनि कार्यक्रमहरु फलदायी हुने नगर प्रमुख खाँणको तर्क छ । अहिलेको युगमा सीप भएको नागरिक नै धनी हुने भएकाले सीप सिकेर उद्यमी बन्ने र त्यसलाई जिउने माध्यम बनाउनु पर्ने खाँणको भनाई छ ।

तिलोत्तमा वडा नम्बर–५ मा १० हजार उद्यमी महिला रहेको र सबैलाई उकास्न वडास्तरका कार्यक्रम गर्दै आएको छ । महिलालाई उद्यमसँग जोड्न तिलोत्तमाका हरेक वडामा बजेट विनियोजन भएको र सोही अनुसार कार्यक्रम समेत गर्खै आएको वडा कार्यालयले जनाएको छ । महिला जसले उत्पादन गर्छन उनीहरुले आफ्ना उद्यम सानो भएपनि चिनाउन उत्पादित वस्तु बिक्री गर्न नलजाइकन अघि सर्नुपर्ने वडा अध्यक्ष रमेश डुम्रेले बताउनुभयो ।

प्रशिक्षणमा ब्रान्डिङ, प्यकेजिङ, मार्केटिङ च्यानल फाउन्डेसन लगायतका विषयमा सिकाइनेछ । सहभागीले आफ्ना वडा तथा पालिकामा रहेका अन्य उद्यमीलाई सिकाउने र सञ्जाल बनाएर उत्पादन बिक्री गर्न सक्षम बनाउने आयोजक वुमन एक्टले जनाएको छ । सीप, काम र आत्मनिर्भरता नै महिलाको जीवन परिवर्तनको माध्यम भएको वुमन एक्टकी अध्यक्ष सृजना अधिकारीले जानकारी दिनुभयो ।

महिलालाई इलम गर्न सक्ने खालको बनाउन आफूहरुले यसअघि पनि धेरै कार्यक्रम गरेको र उद्यमशिलतासँग जोड्न सकेमात्र महिलाको स्वयं विकास गर्न सकिने वुमन एक्टले जनाएको छ । दुई दिने प्रशिक्षक प्रशिक्षणमा बुटवल उपमहानगरपालिका, तिलोत्तमा, रामग्राम, सुनवल, बुद्धभूमि, नेपालगञ्ज उपमहानगर, कोहलपुर नगरपालिका र सियारी गाउँपालिकाका गरी ३० जना भन्दा बढी महिला उद्यमी सहभागी भएका छन् ।



प्रतिक्रिया