जमिन फर्काउनेलाई भोट : भान्साखोलाबासी
असार १०, २०७४ | झापा
मुलुक स्थानीय तह दोश्रो चरणको निर्वाचनमा होमिएको छ । दोश्रो चरणको निर्वाचन हुने ३५ जिल्लाका गाउँ तथा शहरलाई निर्वाचनले छपक्कै छोपेको छ । झापाको सीमावर्ती क्षेत्रका बासिन्दालाई पनि २० बर्षपछि हुन लागेको स्थानीय तह निर्वाचनको माहौलले हर्षित बनाएको छ ।
तर सीमा क्षेत्र क्रमश: मिचिदै गएर आफु बसिरहेको जमिन नै भारतीय भूभागमा परेपछि दुखित भएका उनीहरु निर्वाचित हुने जनप्रतिनिधिले आफ्नो जमिन फिर्ता ल्याउन पहल गर्नेमा आशंका व्यक्त गर्छन् ।
झापाको मेचीनगर नगरपालिकाको भान्साखोलामा सीमा मिचेपछि नेपालको ठूलो हिस्सा हाल भारतीय भूभागमा परेको छ । नेपाली भूभागमै जमिन खरिद गरी बसोबास गर्दै आएका नेपालीहरु एकाएक भारतीय भूमिका भएका छन् ।
करिब ४० बर्षअघि भारतीय पक्षले नेपाली सीमा मिचेर पिल्लर गाडेपछि करिब २५ घरधुरी नेपाली भारतीय भूभागमा पुगेको छ । यसबारे सरकारको पटकपटक ध्यानाकर्षण गराएपनि सुनुवाई नभएको स्थानीयको गुनासो छ ।
सो मुद्दालाई अब निर्वाचित हुने स्थानीय प्रतिनिधिले केन्द्र सम्म पुर्याएर सुनुवाई गर्ने आशा स्थानीयको छ । स्थानीय अमृत सिंह लिम्बु भारतीय पक्षले नेपाली सीमा मिचेर पिल्लर गाडेपछि आफुहरु भारतीय भुभागमा परेको भन्दै अब केही हुन नसक्ने बताउँछन् । समस्या समाधानका लागि आफुहरुले पटक पटक सम्बन्धीत निकायको ध्यानाकर्षण गराएपनि सुनुवाई नभएको स्थानीय ७४ बर्षीय उनी बताउँछन् ।
सो स्थानमा भारतीय सशस्त्र सीमावलका सदस्यहरुले यसअघि कयौं पटक दुख दिएका छन् । पछिल्लो समय भने एसएसबीे ज्यादती शुन्यप्राय छ । सो स्थानमा बसिरहेका स्थानीयको दैनिकी पनि सामान्य रुपमा चलिरहेको छ ।
तर नेपाली भएर पनि भारतीय भूभागमा रहनुपर्दा आफ्नो स्वाभिमानमा चोट पुगेको अनुभवभने भइरहने उनीहरु सुनाउँछन । निर्वाचनका लागि भोट माग्ने विभिन्न दलका उम्मेद्वारसंग पनि उनीहरुले सीमाना फिर्ता लिन पहल गर्न मागगर्दै आएका छन् ।
स्थानीय वृद्ध विरवहादुर सुब्बाले भने, उम्मेद्वारहरु विकास गर्छु भनेर भोट माग्न आउछन तर चुनाव जितेपछि अहिले गरेको वाचा पुरा गर्दैनन् । नेता हरुले के गर्यो कसो गर्यो, हामीलाई त भारतीय बनाई दियो । पहिला पनि गरेन अब पनि गर्ला जस्तो लाग्दैन, आज सम्म केही नगरेको सरकारले अब जितेर मात्र खै के गर्ला र, उनले भने ।
अहिले विकासाका नारा लिएर उम्मेद्वारहरु घरदैलो गर्दैछन् । स्थानीय नेताका प्रतिबद्धता पत्रमा पनि देश तथा स्थानीय तह विकासका ठूला ठूला नाराहरु समेटिएका छन् । तर भान्साखोलाबासी भने स्थानीय देखिएका साना देखि ठूला सम्म समस्या केन्द्र सम्म पुगोस् भन्ने एउटै मात्र चाहाना राख्छन् ।
नेपालभित्रै भारतीय बनेर बस्दा हरेक दिन आफ्ना सन्तानको चिन्ताले सताउने स्थानीय बताउँछन् । स्थानीय ७० बर्षीय टंकबहादुर राई पहिला मेची खोला सिमा भनेर बसेको तर अहिले भारतीय भएछौँ, सिमा मिलाउनु पर्ने हो तर नेताहरुले हाम्रो दु ख र समस्या बुझेनन् ।
सोही क्षेत्रका युवा पनि आफ्नो जमिन फिर्ता गर्न नेपाल सरकारले कुटनीतिक पहल गर्नुपर्ने बताउँछन् । त्यसका साथसाथै आफ्नो स्थानको विकासमा भने नेताहरु लाग्नुपर्नेमा जोड दिन्छन् । नेताहरुले अहिले प्रतिवद्धता जनाए अनुसार गाउँठाउँको विकास गर्नुपर्ने बताउँछिन् स्थानीय २५ बर्षीय सरिता ।
उनले भनिन् भोट माग्न आउने बेला विकास र समृद्धिका अनेक आश्वासन देखाएर जान्छन तर पछि केही गर्दैनन् । जिते पछि भनेको कुरा गर्छन भन्ने विश्वास लाग्दैनन्, हामीलाई गाउँमा सडकको सुविधा छैन, उनले सुनाइन, अब जित्ने जनप्रतिनिधिले यो समस्या समाधानमा पहल गरे हुन्थ्यो भन्ने लाग्छ तर खै गर्छन जस्तो लाग्दैन ।
भान्साखोलामा रहेका करिब २५ परिवारको एउटै चाहाना छ, भारतीय भूभागमा पुगेको आफ्नो जमिन फिर्ता लिन सरकारले पहल गरोस् । २० बर्षपछि हुन लागेको स्थानीय तह निर्वाचनबाट निर्वाचित हुने जनप्रतिनिधिले आफ्नो समस्या समाधानका लागि पहल गर्ने अपेक्षा उनीहरुको छ ।