राष्ट्रिय स्वतन्त्र पार्टीको ७ स्थानमा अग्रता

मंसिर ५, २०७९ | काठमाडौं

ठुला दलहरुलाई चुनौती दिँदै उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभा सदस्य निर्वाचनमा ७ स्थानमा अग्रता लिएको छ । तर सो पार्टीका सभापति समेत रहेका रवि लामिछाने भने एमाले र गठबन्धनका उमेदवार भन्दा तल रहँदै तेस्रो स्थानमा रहेका छन् । पछिल्लो मतगणना अनुसार झापाको क्षेत्र नंम्बर ४ मा शम्भुप्रसाद ढकाल ८ सय ३७ मतसहित अगाडि देखिनुभएको हो । उहाँका निकटतम् प्रतिद्धन्द्धी एमालेका लाल प्रसाद साँवा लिम्बुले ६ सय ७५ मत सहित पछ्याइरहनु भएको छ ।

काठमाडौं निर्वाचन क्षेत्र नंम्बर २ मा स्वतन्त्र पार्टीकी सोबिता गौतम ४ सय ७ मतसहित अग्रस्थानमा रहँदा एमालेका मणिराम फुयाँलले २ सय ५४ मतसहित उहाँलाई पछ्इरहनुभएको छ । यस्तै काठमाडौंकै क्षेत्र नम्बर ६ मा शिशिर खनाल ६ सय ९ मतसहित शिर्ष स्थानमा रहनुभएको छ भने एमालेका तर्फबाट सर्वेन्द्र खनाल ४ सय १७ मत सहित दोस्रो स्थानमा देखिनुभएको छ ।

ललितपुरको क्षेत्र नंम्बर ३ मा २ हजार १ सय ८२ मतसहित तोसिमा कार्की अन्य उम्मेदवार भन्दा अगाडि देखिनुभएको छ । कार्कीको प्रतिद्धन्द्धीका रुपमा एमालेका अमृत खड्का १ हजार ८ सय ८५ मतसहित दोस्रो स्थानमा हुनुहुन्छ । 

कास्की क्षेत्र नंम्बर २ मा स्वतन्त्र पार्टीका माधवप्रसाद कंडेल ९ सय २५ मतका साथ अग्रस्थानमा रहनुभएको छ । एमाले नेतृ विद्या भट्टराई ७ सय ४४ मतसहित दोस्रो स्थानमा रहनुभएको छ । कास्कीकै क्षेत्र नं ३ मा पनि योगराज पौडेल ९ सय २७ मत सहित शिर्ष स्थानमा हुनुहुन्छ । एमालेका दामोदर पौडेल ८ सय ४४ मतका साथ दोस्रो स्थानमा हुनुहुन्छ ।

रुपन्देही २ मा गणेश पौडेलले ३ सय ३४ मतसहित अग्रस्थान कायम गर्नुभएको हो । उहाँका निकटतम् प्रतिद्धन्द्धीका रुपमा एमालेका विष्णु पौडेल २ सय ९३ मतका साथ दोस्रो स्थानमा हुनुहुन्छ ।

यसैबीच हाम्रो नेपाली पार्टीबाट लौरो चुनाव चिन्ह लिएर उठेका काठमाडौं ८ मा उमेदवार बनेका सुमन सायमी १ हजार ८ सय ५२ मतसहित अग्र स्थानमा देखिएका छन् । उनको प्रतिद्धन्द्धीका रुपमा राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठ १ हजार ६ सय ७३ मतसहित दोस्रो स्थानमा रहनुभएको छ । 


प्रतिक्रिया