गण्डकीबाट राष्ट्रिय सभामा श्रेष्ठ र न्यौपाने विजयी, २ मत खसेन

माघ ९, २०७६ | पोखरा

राष्ट्रियसभाको २ सिटका लागि भएको निर्वाचनमा गण्डकी प्रदेशबाट नेकपाका उम्मेदवार विजयी भएका छन् । नेकपा प्रवक्ता एवं सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ र भगवती न्यौपाने राष्ट्रियसभा सदस्यमा निर्वाचित हुनु भएको हो ।

श्रेष्ठले ४१ प्रदेशसभा सदस्य र ८३ स्थानीय तहबाट मत प्राप्त गर्नुभयो । प्रदेशसभा सदस्यको ४८ र स्थानीय तहको मतदाताको मतभार १८ कायम गरिएको थियो ।

श्रेष्ठले ३४६२ मतभार प्राप्त गर्नुभयो । यसैगरी न्यौपानेले ३९ प्रदेशसभा सदस्य र ८३ स्थानीय तहका मत र ३३६६ मतभार प्राप्त गर्नुभयो ।

निकटतम प्रतिद्वन्द्वी कांग्रेसका सूर्यप्रसाद रेग्मीले २२४४ र बिमला गौचनले २३४० मतभार ल्याइन । राष्ट्रिय जनमोर्चाका शंकरप्रसाद बरालले १९८ मतभार प्राप्त गर्नुभयो । 

प्रदेशमा ६० प्रदेशसभा सदस्य र स्थानीय तहको १७० मत थियो । त्यसमध्ये स्थानीय तहका दुईमत खसेनन् । 

मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्पेल विष्ट र गोरखाको सिरानचोक गाउँपालिका उपाध्यक्ष रीता देवकोटा मतदानमा सहभागी भएनन् । विष्ट नेकपा र देवकोटा कांग्रेस निकट हुन् । 


प्रतिक्रिया