प्रदेश १ बाट राष्ट्रियसभा सदस्यमा नेकपाले बाजी मार्‍यो

माघ ९, २०७६ | मोरङ

राष्ट्रियसभा सदस्यको प्रदेश १ मा महिला, दलित र अन्य गरी तीन सदस्यका लागि भएको मतदानमा नेकपाका उम्मेदवार विजयी भएका छन् । 

नेकपाबाट महिलातर्फ सुनसरीको इटहरी उपमहानगर ४ की ६४ वर्षीया इन्दिरादेवी गौतम, दलिततर्फ मोरङका गोपीबहादुर सार्की अछामी र अन्य तर्फ झापाका ६१ वर्षीय देवेन्द्र दाहाल विजयी हुनुभयो । 

गौतमले ६ हजार ४ सय २६ मतभार ल्याएर विजयी हुनु भयो भने, उहाँका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका मिना पुलामी मगरले २ हजार ६ सय २२ मतभार प्राप्त गर्नु भएको मुख्य निर्वाचन अधिकृत मेदिनीप्रसाद पौडेलले बताउनुभयो ।

यस्तै, अछामीले ६ हजार ३ सय ३० मतभार ल्याएर विजयी हुनु भयो भने, उहाँका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका निरबहादुर विश्वकर्माले २ हजार ७ सय १८ मतभार प्राप्त गर्नुभयो । 

अन्यतर्फ दाहालले ६ हजार २ सय ३४ मतभार ल्याएर विजयी हुनुभयो भने, उहाँका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका राजेन्द्रकुमार घिमिरेले २ हजार ७ सय ६६ मतभार पाउनुभयो ।

कुल मतदाता प्रदेशसभा सदस्य ९३ जनामध्ये ९२ र स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष २ सय ७४ मध्ये २ सय ७२ जनाले मतदान गरेका थिए । 

प्रदेशसभा सदस्य, स्थानीय तहका अध्यक्ष र उपाध्यक्ष गरी तीन जनाले मतदानमा सहभागी भएनन् । 

मतदान नगर्नेमा मोरङको प्रदेशसभा सदस्य गुलेफुन मियाँ खातुन, सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका अध्यक्ष ङिम दोर्जी शेर्पा र संखुवासभाकी सिलिचोङ गाउँपालिका उपाध्यक्ष लालकुमारी राई रहेको मुख्य निर्वाचन अधिकृत पौडेलले बताउनुभयो । 


प्रतिक्रिया