अष्ट्रेलियाको राष्ट्रिय दिवसमा नेपाली रौनक

फाल्गुन ११, २०७५ | अष्ट्रेलिया

अष्ट्रेलियाको राष्ट्रिय दिवस ‘अष्ट्रेलिया डे’ मा नेपालीहरुले सहभागिता जनाएका छन् । सयौंको संख्यामा आफ्नो विभिन्न परम्परागत पोशाक र राष्ट्रिय झण्डा सहित भेला भएका नेपालीहरुले अष्ट्रेलियाको राष्ट्रिय दिवसमा आयोजित बहुसांस्कृतिक परेडमा रौनक थपेका थिए ।

अष्ट्रेलियाले सन १७८८ मा पहिलो डुङ्गा अष्ट्रेलिया आइपुगेको खुशीयालीमा जनवरी २६ तारिखलाई राष्ट्रिय दिवसका रुपमा मनाउने गर्दछ । दिवसमा अष्ट्रेलियामा रहेका २ सय बढी देशबाट आएका आप्रवासीहरुको अलग कला संस्कृति, भेषभूषा र परम्परालाई एकत्रित गर्ने उद्देश्यले बहुसांस्कृतिक परेडको आयोजना गर्ने गरिएको छ ।

हरेक राज्यहरुमा आयोजना गरिने यस परेडमा नेपालीहरुले विशेष रुपमा आफ्नो कला संस्कृति र परम्परालाई प्रस्तुत गर्ने गर्दछन् । विशेष गरेर दक्षिण अष्ट्रेलियामा आयोजना गरिने परेडमा नेपाली प्रस्तुतिलाई अलग महत्वका साथ हेर्ने गरिन्छ । 

मुख्य शहरदेखि करीब ५ किलोमिटरसम्म गरिएको पैदल यात्रामा नेपालीहरुले जिवित देवी मानिने कुमारीलाई रथमा राखेर घुमाएका थिए । परम्परागत पोशाकमा लाखे र मारुनी सहित ढोल बजाएर परेडमा हिँडेका नेपालीहरुलाई अवलोकन गरिरहेकाहरुले ताली बजाएर स्वागत गरेका थिए ।

कार्यक्रममा सहभागी अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) अध्यक्ष विकास पोखरेलले यो वर्षको एक पटक दशौं हजार विदेशीहरुलाई नेपालको कला संस्कृति र पर्यटनको प्रचार गर्ने अवसर भएकाले सकेसम्म आफ्नो देशलाई सबैका सामु चिनाउने प्रयत्न गरिएको बताउनुभयो ।

केन्द्रीय तथा राज्य सरकारले समेत प्राथमिकताका साथ आयोजना गर्ने यो कार्यक्रममा नेपालीहरुले विगत ५ वर्ष अघिदेखि सहभागिता जनाउँदै आएका छन् । यहाँ आयोजना गरिने यस्ता बहुसांस्कृतिक कार्यक्रममा उत्साहका साथ सहभागिता जनाउने भएकाले समेत नेपाली समुदायलाई अष्ट्रेलियाको स्थानीय निकायका साथै समुदायले मन पराउने गरेको छ । 


प्रतिक्रिया