अस्ट्रेलियाका तीन राज्यमा संकटकाल घोषणा

चैत्र ३, २०७६ | सिड्‍नी

 कोरोना भाइरस (कोभिड – १९) को संक्रमण रोक्नका लागि अस्ट्रेलियाका तीन राज्यमा आपत्काल घोषणा गरिएको छ ।सर्वसाधारणको स्वास्थ्यलाई मध्यनजर गरेर भिक्टोरिया, अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसीटी) र दक्षिण अस्ट्रेलियन सरकारले जनस्वास्थ्यका लागि संकटकाल घोषणा गरेको हो ।

 केन्द्रीय सरकारले अस्ट्रेलिया आउने जोकोहीले अनिवार्य १४ दिनसम्म ‘सेल्फ आइसोलेसन’ मा बस्नैपर्ने नियम लगाएको भोलिपल्ट भिक्टोरिया, अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसीटी) र दक्षिण अस्ट्रेलियन सरकारले यस्तो घोषणा गरेका हुन् ।

अस्ट्रेलियामा कोरोना भाइरसको संक्रमण हरेक दिन बढ्ने क्रममा छ । अहिलेसम्म यसबाट ३ सय ३४ जना संक्रमित बनिसकेका छन भने मृत्यु हुनेको संख्या ५ पुगिसकेको छ । तीन राज्य सरकारले गरेको यस घोषणासँगै सम्बन्धित प्रमुख स्वास्थ्य अधिकारीलाई केन्द्र सरकारले लागू गरेको १४ दिने सेल्फ आइसोलेसनको नियमलाई पालना गर्नका लागि थप अधिकार प्रदान गर्नेछ भने स्रोत परिचालनका लागि समेत थप अधिकार दिनेछ । 

भिक्टोरिया सरकारले एक महिनासम्मका लागि आपत्कालीन अवस्थाको घोषणा गरेको छ । आपत्कालीन अवस्थाको समय संक्रमण र जनस्वास्थ्यको अवस्था हेरेर बढ्न सक्ने भिक्टोरियाका प्रिमियर डानियल एन्ड्रयुले बताएका छन् । ‘हामीले यस्तो विशेष अधिकार अहिलेसम्म प्रयोग गरेका थिएनौं र यसको प्रयोगले वर्तमान समस्या अत्यन्तै जटिल छ भन्ने प्रस्ट पार्छ,’ उनले भने ।

अस्ट्रेलियन क्यापिटल टेरिटोरी र दक्षिण अस्ट्रेलियाका सरकार प्रमुखले आफूले यस भाइरसको संक्रमणलाई गम्भीरताका साथ लिएको र यो नियमको कडाइका साथ पालना गरिने जनाएका छन् । आपत्कालीन अवस्थामा मुख्य स्वास्थ्य अधिकारीलाई सर्वसाधारणलाई निश्चित स्थान खाली गर्न, आफूलाई सबैबाट अलग राख्न, आवश्यक परे सडक तथा अन्य क्षेत्रहरु बन्द गर्न र जनस्वास्थ्यका लागि कुनै पनि स्थानमा निर्वाध प्रवेश गर्न अधिकार प्रदान गर्दछ ।

 यस भाइरसको संक्रमणलाई कम गर्नका लागि यहाँस्थित सरकारले ५ सयभन्दा बढीलाई सहभागी हुन नदिने घोषणा गरिसकेको छ भने राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका खेल प्रतियोगिताहरु समेतरद्द गरिएको छ । यसैगरी एक महिनासम्म पानीजहाजलाई आउनसमेत प्रतिबन्ध लगाइएको छ ।

अस्ट्रेलियाले सोमबारदेखि लागू गरेको १४ दिने सेल्फ आइसोलेसनको नियमलाई पालना नगर्नेलाई १३ हजार डलरसम्म जरिवाना गरिनेछ ।


प्रतिक्रिया