विश्वमा कोरोना संक्रमणबाट मृत्यु हुने ३० हजार नाघे

रेडियो कान्तिपुर संवाददाता

चैत्र १६, २०७६ | एजेन्सी

विश्वभर फैलिएको कोरोना भाइरसको महामारीका कारण मृत्यु हुनेको संख्या ३० हजार नाघेको छ । हालसम्म ३० हजार ८ सय २२ जनाको मृत्यु भएको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकमा उल्लेख छ । 

संक्रमितको संख्या ६ लाख ६३ हजार ८ सय २८ पुगेको छ । जसमध्ये १ लाख ३९ हजार ४ सय ५१ जना पूर्ण रुपमा निको भएका छन् । संक्रमणबाट सबैभन्दा धेरै क्षती बेहोरेको इटलीमा मृत्यु हुनेको संख्या १० हजार नाघेको छ । हिजो मात्रै थप ८ सय ८९ जनाको मृत्यु भएको इटलीको सिभिल प्रोटेक्सनले उल्लेख गरेको छ । त्यहाँ ९२ हजार ४ सय ७२ जनामा संक्रमण पुष्टी भइसकेको छ ।

 हालसम्म सबैभन्दा बढी संक्रमण फैलिएको अमेरिकामा २४ घण्टाको अवधीमा मात्र ५ सय १५ जनाको मृत्यु भएको छ भने १९ हजार ३ सय २ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या १ लाख २३ हजार ४ सय ९८ पुगेको छ भने मृत्यु हुनेको संख्या २ हजार २ सय नाघेको छ ।

यस्तै, स्पेनमा पनि २४ घण्टाको अवधीमा ८ सय ४४ जनाको मृत्यु भएको छ भने थप साढे ७ हजारमा संक्रमण पुष्टी भएको छ । योसंगै आजसम्म स्पेनमा ७३ हजार २ सय २५ जनामा संक्रमण पुष्टी भएको छ भने ५ हजार ९ सय ८२ जनाको मृत्यु भएको छ । 

संक्रमणबाट स्पेनकी राजकुमारी मारिया टेरेसाको निधन भएको छ । ८६ वर्षीय राजकुमारी मारीयाको पेरीसमा मृत्यु भएको हो । जर्मनीमा ५७ हजार ६ सय ९५ जनामा संक्रमण देखिएको छ भने ४ सय ३३ जनाको मृत्यु भएको छ । फ्रान्समा ३८ हजार १ सय ५ जनामा संक्रमण पुष्टी हुँदा २ हजार ३ सय १४ जनाको मृत्यु भएको छ । 

इरानमा ३५ हजार ४ सय ८ जना संक्रमित रहेकोमा २ हजार ५ सय १७ जनाले ज्यान गुमाएका छन् । बेलायतमा १७ हजार ३ सय १२ जनामा संक्रमण पुष्टी भएको छ, मृत्यु हुनेको संख्या १ हजार नाघेको छ ।

संक्रमण बढ्दै गएपछि अमेरिकाको न्यूयोर्कमा यात्रामा कडाई गर्ने तयारी राष्ट्रपति डोनल्ड ट्रम्पले गर्नुभएको छ । ट्रम्प प्रशासनको सुस्त कार्यशैली तथा जनताको लापरवाहीका कारण अमेरिका कोरोना भाइरसको केन्द्र विन्दु बनेको भन्दै व्यापक आलोचना हुने गरेको छ ।


प्रतिक्रिया