अष्ट्रेलियामा २ जनाभन्दा बढी भेला हुन नपाउने

चैत्र १६, २०७६ | अष्ट्रेलिया

कोरोना भाइरसको संक्रमण रोक्ने उद्देश्यले अष्ट्रेलिया सरकारले आफ्नो परिवार बाहेक सार्वजनिक स्थलमा दुइजना बढी भेला हुन नपाउने निर्णय गरेको छ । प्रधानमन्त्री स्कट मरिसनले यो नियम रोजगार तथा शैक्षिक संस्थामा भने लागू नहुने बताउनुभएको छ ।

यसपहिले सार्वजनिक स्थलमा १० जनाभन्दा बढी भेला हुन नपाइने नियम लगाइएको थियो । सरकारले यसअघि नै काजकिरियामा अधिकतम १० जना र बिवाहमा ५ जनामात्र भेला हुन पाउने नियम लगाइसकेको छ ।

यसैगरी सत्तरी बर्षभन्दा माथिका बृद्धबृद्धालाई घरबाट बाहिर ननिस्कन समेत सुझाव दिइएको छ । प्रधानमन्त्री मरिसनले अत्यन्तै जरुरी कामका लागि बाहिर निस्कन भएपनी आफ्नो स्वास्थ्यको ख्याल गर्न आग्रह गर्नुभएको छ । 

पत्रकार सम्मेलनमा मुख्य स्वास्थ्य अधिकारी डा. ब्रान्डन मर्फिले सरकारले लगाएको सामाजिक दुरीको नियम प्रभावकारी देखिएको बताउँदै सरकारको सुझावलाई पालना गर्न आग्रह गर्नुभएको छ ।

यसैबीच सरकारले आइतबार १ अर्ब १० करोडको जनस्वास्थ्यका लागि सुबिधा योजना सार्वजनिक गरेको छ । अष्ट्रेलिया सरकारले आर्थिक संकट सामना गरिरहेका नागरिकलाई ऋणको व्याज लगायत तिर्नका लागि ६ महिना सम्मकालाई समय दिने निर्णय गरेको छ ।


प्रतिक्रिया