संक्रमण बढेपछि भिक्टोरियाका केही क्षेत्रमा पुन: लकडाउन

 भिक्टोरियाको सडकमा कोभिड–१९ टेस्ट गर्दै स्वास्थ्य अधिकारी : फोटो एएपी

असार १६, २०७७ | अस्ट्रेलिया

कोरोना भाइरस संक्रमितको संख्या अचानक बढेपछि अस्ट्रेलियाको भिक्टोरिया राज्यका केही क्षेत्रलाई एक महिनाका लागि पुन: लकडाउन गरिएको छ । उक्त राज्यका प्रिमियर ड्यानिल एन्ड्रुजले ३६ गाउँका बासिन्दालाई बुधबारदेखि अत्यावश्यक वाहेक घरबाट निस्कन नपाउने नियम लागु गरेका छन् ।

६ राज्य तथा दुई टेरिटोरी रहेको अस्ट्रेलियामा कोरोना भाइरस संक्रमण करिब नियन्त्रणमा आइसकेको भएपनि केहीदिनदेखि भिक्टोरियामा पुन: नयाँ संक्रमण देखिएको हो । यस राज्यमा विगत दुई दिनमा मात्र १ सय ५० भन्दा बढी नयाँ संक्रमित पाइएपछि नियन्त्रण स्वरुप ३६ गाउँमा पुन: लकडाउन घोषणा गरिएको प्रिमियर एन्ड्रुजले बताएका छन् । 

राज्यका अधिकारीले संक्रमण भित्रिएको स्थानलाई (हट स्पट) का रुपमा पहिचान गरेर नियन्त्रणको प्रयास गरिएको बताएका छन् । स्थानीय समाचारमाध्यमका अनुसार प्रिमियर एन्ड्रुजले उक्त राज्यमा व्यवस्था गरिएको होटल क्वारेन्टाईनको व्यवस्थापनलाई लिएर न्यायिक छानविनको समेत घोषणा गरेका छन् ।

राज्य सरकारले घोषणा गरेको लकडाउनमा उक्त क्षेत्रका बासिन्दाले अत्यन्तै आवश्यक बाहेक अन्य कारणले घर छोड्न पाउनेछैनन् । उक्त क्षेत्रका बासिन्दाले यसपहिले लागु गरिएको स्टेज तीन अन्तरगतकै लकडाउनको सामना गर्नुपर्नेछ । जस अन्तरगत परिवार वाहेक दुईजनाभन्दा बढी भेला हुन नपाउने, क्याफे तथा रेस्टुरेन्ट टेकअवेमा सीमित हुनुपर्नेछ । 

लकडाउन घोषणा गरिएको क्षेत्रमा पालना भएनभएको प्रहरीले चेक गर्ने स्थानीय समाचारमा जनाइएको छ । एन्ड्रुजले मेलबर्नमा उत्रने अन्तरास्ट्रिय उडानलाई समेत अन्य राज्यमा अवतरण गर्न आग्रह गरेका छन् ।

अर्काेतिर अस्ट्रेलियाका अन्य राज्यले भने लकडाउनलाई खुला गर्दै लगेका छन् । दक्षिण अस्ट्रेलिया, क्युन्सल्याण्ड, न्यु साउथ वेल्स लगायतका राज्यले आन्तरिक हवाईसेवालाई समेत सुचारु गर्ने निर्णय गरिसकेका छन् । तरपनि अधिकांश राज्यले भने भिक्टोरियाको सीमाना तत्काललाई खोल्ने निर्णय गरेका छैनन् ।

संक्रमण बढेपछि केन्द्र सरकारले केही दिनअघि नै यसको नियन्त्रणका लागि १ हजार सैनिक भिक्टोरियामा परिचालन गरिसकेको छ भने मंगलबार पुन ८ सय कर्मचारी पठाएको छ । उनीहरुले टेस्टिङ, समुदायलाई संक्रमणबाट बच्नका लागि जानकारी दिने र संक्रमण धेरै देखिएको स्थानमा जनतालाई सुुसुचित गर्ने जनाइएको छ । भिक्टोरियाका मुख्य स्वास्थ्य अधिकारी ब्रेट सटनले अवस्था अझ बिग्रनसक्ने संचारमाध्यमलाई बताएका छन् । उनले युवाहरुमा संक्रमण देखिएको बताउँदै चिसो मौसम पनि यसको कारण हुनसक्ने जनाएका छन् ।

लकडाउन घोषणा गरिएका क्षेत्रहरु नेपालीको बाक्लो बसोबास भएको स्थानमा पर्दछ । मेलबर्नमा बस्दै आएका एनआरएन अस्ट्रेलियाका अध्यक्ष केशव कंडेलले उक्त क्षेत्रमा अधिकांश नेपाली बस्ने भएपनि अहिलेसम्म कुनैपनि नेपालीमा संक्रमण नपाइएको जानकारी दिए । उनले सो क्षेत्रका बासिन्दासँग नियमित सम्पर्कमा रहेको र आवश्यक्ता अनुसार सहयोग पुरयाइने बताए ।

न्यु साउथ वेल्स, दक्षिण अस्ट्रेलिया लगायतका केही राज्यमा सानो संख्यामा नयाँ संक्रमित देखिएको भएपनि उनीहरु सबै विदेशबाट उद्दार गरेर क्वारेन्टाईनमा राखिएका नागरिकहरु छन् । अस्ट्रेलियामा अहिलेसम्म ७ हजार ७६७ जनामा भाइरसको संक्रमण देखिएको छ भने ७ हजार ८ संक्रमित निको भएर घर फर्किसकेको स्वास्थ्य मन्त्रलायले जनाएको छ । अहिलेसम्म यसका कारण यहाँ १ सय ४ ले ज्यान गुमाइसकेका छन् ।


प्रतिक्रिया