न्युजिल्याण्डमा पुन: लकडाउन

श्रावण २८, २०७७ | अष्ट्रेलिया

न्युजिल्याण्डमा ४ जनामा कोरोना भाइरसको संक्रमण देखिएपछि पुन: लकडाउन गरिएको छ । करीब १ सय दिनसम्म नयाँ संक्रमण नदेखिएको न्युजिल्याण्डमा अचानक मंगलबार चार जनामा संक्रमण देखिएपछि प्रधानमन्त्री जसिन्डा आर्डनले तेस्रो चरणको लकडाउनको घोषणा गर्नु भएको हो । 

प्रधानमन्त्री आर्डनले बुधबार आयोजित पत्रकार सम्मेलनमा भाइरस संक्रमण रोकथामका लागि लकडाउन आवश्यक भएको बताउनुभयो । तत्काल तीन दिनका लागि घोषणा गरिएको लकडाउन सावधानी अपनाउनका लागि लगाइएको उहाँले जानकारी दिनुभयो । 

प्रधानमन्त्री आर्डनले संक्रमण देखिएको अकल्याण्ड क्षेत्रमा लेभल तीन अन्तर्गतको लकडाउन र न्युजिल्याण्डमा दोस्रो तहको लकडाउनको घोषणा गर्नु भएको हो । अकल्याण्डको एकै परिवारमा देखिएको सो संक्रमणपछि न्युजिल्याण्डले भाइरस परीक्षणलाई तीब्रता दिएको छ ।

न्युजिल्याण्डका स्थानीय सञ्चार माध्यमका अनुसार संक्रमित चारैजना एकै परिवारका हुन् । उनीहरुमध्ये कसैले पनि विदेश भ्रमण गरेका थिएनन् । परिवारका अन्य ६ जनालाई समेत भाइरस परीक्षण गरिएको भएपनि उनीहरुको नतिजा नेगेटिभ आएको छ । न्युजिल्याण्डका मुख्य स्वास्थ्य अधिकारी डा. एस्ली ब्लुमफिल्डले उनीहरुलाई यति लामो समयपछि कसरी भाइरसको संक्रमण भयो भन्ने बारेमा आफूहरु अनभिज्ञ रहेको बताउनुभयो । 

उहाँले परिवारमा कसरी संक्रमण भयो र उनीहरु कहाँ गएका थिए भन्ने बारेमा अनुसन्धान भइरहेको जानकारी दिनुभयो । उनीहरुको नजिकको सम्पर्कमा आएका २ सय जनाको परीक्षण गरिएको समाचारमा जनाइएको छ । न्युजिल्याण्डको अकल्याण्डमा रहेका न्युजिल्याण्ड नेपाली समाजका अध्यक्ष दिनेश खड्काले महिनौंपछि लगाईएको लकडाउनले असामान्य महसुस भएपनि समग्र जनजीवन भने सामान्य रहेको बताउनुभयो ।

 उहाँले भन्नुभयो, ‘जम्मा तीनदिनका लागि मात्र भएकाले समेत हामीले अहिल्यै यसको असर महसुस गर्न पाएका छैनौं । तर, सडकमा सवारीका साधन भने धेरै कम गुडिरहेका छन् ।’ यदी लकडाउन बढेको खण्डमा उच्च शिक्षा अध्ययनका लागि आउने नेपाली विद्यार्थीलाई कुनै सहयोग आवश्यक भए पुर्‍याउन तयार रहेको समेत उहाँले जानकारी दिनुभयो ।

डा. ब्लुमफिल्डले आगामी दिनमा दशौं हजार न्युजिल्याण्डबासीलाई कोरोना भाइरस भए/नभएको परीक्षण गरिने बताउनुभयो । करीब ३ लाख परीक्षणका किट उपलब्ध रहेको भन्दै उहाँले संक्रमित परिवारले यात्रा गरेका स्थानहरुमा समेत परीक्षण गरिने जानकारी दिनुभयो । 

यस्तै, उहाँले सयौं स्वास्थ्यकर्मीलाई यस कार्यका लागि परिचालन गरिएको समेत जानकारी दिनुभयो । प्रधानमन्त्री आर्डनले सर्वसाधारणलाई आफन्तसँग भेटघाट नगर्न र सामाजिक दूरी कायम गर्न आग्रह गर्नु भएको छ । 


प्रतिक्रिया