फाईजर भ्याक्सिनलाई अस्ट्रेलियामा अनुमति

माघ १२, २०७७ | अस्ट्रेलिया

कोरोना भाइरसविरुद्धको फाईजर खोपलाई अस्ट्रेलियाले प्रयोगका लागि अनुमति दिएको छ । अस्ट्रेलियास्थित औषधि नियमन निकाय थेराप्युटिक गुड्स एडमिनिस्ट्रेसन (टिजिए) ले सो अनुमति दिएको हो ।

प्रधानमन्त्री स्कट मरिसनले विहान पत्रकार सम्मेलन गर्दै अस्ट्रेलियामा कोरोना भाइरसको पहिलो संक्रमण देखिएकै दिन खोप प्रयोगको अनुमति आएको बताउनुभयो । प्रधानमन्त्री मरिसनले खोप प्रयोगको अनुमतिसँगै कोरोना भाइरसबिरुद्ध लड्नका लागि अझ एक कदम अघि बढेको बताउनुभयो । 

प्रधानमन्त्री मरिसनले सबै अस्ट्रेलियालीले विश्वस्तरको नियमन निकायबाट अनुमति प्राप्त भएकाले गुणस्तरमा विस्वस्त हुन आग्रह गर्नुभएको छ । मरिसनले सरकारले सोचजस्तै अर्काे महिनाको मध्य तथा अन्तिमसम्म अस्ट्रेलियामा खोप दिन शुरु गरिने बताउनुभएको छ ।

समाचारमाध्यमका अनुसार फाईजरपछि अक्सफोर्ड अस्ट्राजेनेकाद्वारा निर्मित खोपले अनुमति पाउने छ । सरकारले पहिलो चरणमा ल्याएको खोप अष्ट्रेलियाका बृद्धबृद्धाका साथै अग्रपंक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मी लगायतलाई वितरण गर्ने योजना सरकारको छ । 

साताको ८० हजार दरले उनीहरुलाई पहिलो चरणको खोप दिईने योजना सार्वजनिक भएको छ । जसलाई बढाएर मार्चसम्ममा ४० लाख पुऱ्याइने योजना छ । विभिन्न १ हजार खोपकेन्द्रबाट वितरण गरिने खोपका लागि सरकारले केही सातापहिले नै विभिन्न ५ तहको कार्यक्रम नै सार्वजनिक गरिसकेको छ ।  


प्रतिक्रिया