दिल्लीमा तनाव, प्रहरीद्वारा टियर ग्यास प्रहार

माघ १३, २०७७ | नयाँदिल्ली

किसान आन्दोलनले उग्र रुप लिएपछि भारतको राजधानी नयाँ दिल्लीका विभिन्न स्थान तनावग्रस्त बनेको छ । मंगलबार बिहान दिल्लीको मुख्य भागतर्फ अगाडि बढेका आन्दोलनरत किसानहरु उग्र बनेपछि आइटीओ, अक्षरधाम लगायत स्थानहरु तनावग्रस्त बनेको हो । 

विशेषगरी आइटीओस्थित दिल्ली प्रहरीको मुख्यालयको सामुन्ने नै आन्दोलनरत किसान र प्रहरीबीच झडप भएको छ । ट्रयाक्टर सहित पुगेका किसानहरुले बस लगायत सार्वजनिक सम्पत्ति तोड्ने र प्रहरीमाथि समेत आक्रमण गरेपछि परिस्थिति उग्र बन्न पुगेको हो । 

किसानहरुलाई रोक्न प्रहरीले दर्जनौं टियर ग्यास प्रहार गर्नुका साथै लाठी चार्ज समेत गरेको छ । तर, किसानहरुको संख्या धेरै भएका कारण प्रहरीलाई स्थिति नियन्त्रणमा लिन हम्मेहम्मे परेको छ ।

गणतन्त्र दिवसको अवसरमा राजधानी नयाँ दिल्लीको इण्डिया गेटमा विभिन्न झाँकी र सेनाको परेड सहितको भव्य कार्यक्रम चलिरहेका बेला त्यहाँबाट केही किलोमिटरको दूरीमा किसानहरुले सरकारको विरोधमा र्‍याली निकालेका हुन् । 

जबकि आन्दोलनरत किसान र प्रहरीबीच इण्डिया गेटको कार्यक्रम सकिएपछि १२ बजेपछि मात्र र्‍याली निकाल्ने सहमति बनेको थियो । तर, त्यस विपरीत किसानहरुले मंगलबार बिहानैदेखि र्‍याली निकालेका छन् ।

 मोदी सरकारले ल्याएको कृषि सम्बन्धी तीन वटा कानूनको विरोधमा विगत पाँच महिनादेखि भारत किसानहरु आन्दोलनरत छन् । विशेषगरी पन्जाब, हरियाणा, उत्तरप्रदेश, कर्नाटक, महाराष्ट्र र पश्चिम बंगाल लगायत राज्यमा ती कानूनको चर्को विरोध हुँदै आएको छ । 

सरकारसँगको पटकपटकको वार्ता असफल भएपछि किसानहरुले मगंलबार अर्थात् २६ जनवरीकै दिन धर्नामा रहेका दिल्लीमा ट्रयाक्टर र्‍याली गर्ने यसअघि नै घोषणा गरेका थिए । त्यसका लागि किसानहरुले हजारौंको संख्यामा ट्रयाक्टर तयारीमा अवस्थामा राखिएको थियो । 

दिल्ली प्रहरीले सुरक्षाको कारण देखाएर उनीहरुलाई इण्डिया गेटको विशेष कार्यक्रम सकिएपछि मात्र सो र्‍याली गर्ने अनुमति दिएको थियो । 


प्रतिक्रिया