भारतको उत्तराखण्डमा हिम पहिरो : थप ३ जनाको शव फेला

माघ २६, २०७७ | नयाँ दिल्ली

भारतको उत्तराखण्डको चमोली जिल्लामा आइतबार बिहान हिमनदी फुटेर धौलीगंगा लगायत नदीहरुमा आएको बाढीमा परेर बेपत्ता भएकामध्ये थप ३ जनाको शव फेला परेको छ । चमोली जिल्लाका सूचना अधिकृत रवेन्द्र सिंहका अनुसार सोमबार बिहान सम्ममा ११ जनाको शव बरामद गरिएको छ भने अझै १५३ जना भन्दा बढी सम्पर्क बिहीन छन् । 

उद्धार टोलीले आइतबार साँझसम्ममा बाढीले ल्याएको हिलो र लेदोमा पुरिएका आठ जनाको शव निकालेको थियो । त्यसमध्ये एक जना नेपाली रहेको सिंहले जानकारी दिनुभयो । तर, ती नेपालीको नाम र ठेगाना अझै पनि नखुलेको उहाँले बताउनुभयो । त्यसैगरी हालसम्म २५ जनाको भने जिवितै उद्धार गरिएको पनि सिंहले जानकारी दिनुभयो । 

उत्तराखण्डको जोशी मठ नजिक हिमनदी फुटेपछि धौलीगंगा, अलकनन्दा लगायत नदीमा बाढी आएको थियो । धौलीगंगाको बाढीले चमोली जिल्लाको रैनी र तपवोवन क्षेत्रमा ठूलो मात्रामा जनधनमा क्षति पुर्‍याएको छ । हिमनदीको फुटेको क्षेत्र नजिकका दुई गाउँ पनि बगाएको छ । त्यसैगरी बाढीले जोशी मठमा एउटा पुल पनि बगाएको छ । 

बाढीका कारण चार वटा जलविद्युत आयोजनामा क्षति पुगेको जनाएको छ । त्यसमा पनि रैनी गाउँको तपोवनस्थित ऋषिगंगा जलविद्युत परियोजनामा पूर्ण रुपमा क्षति भएको सूचना अधिकारी सिंहले जानकारी दिनुभयो । 

उहाँका अनुसार त्यहाँ ३५ जना भन्दा बढी काम गर्ने गरेकोमा १२ जनाको भने जिवितै उद्धार गरिएको छ । बाँकीको अवस्था अझै थाहा हुन नसकेको उहाँले जानकारी दिनुभयो । त्यस बाहेक तपोवनस्थित एनटीपीसीको विद्युत परियोजनाको सुरुङगमा अझै पनि ४० भन्दा बढी फसेको आंशका गरिएको छ । त्यहाँ सेना, प्रहरीको उद्धार टोलीले सुरुङमा फसेकाहरुको उद्धारको प्रयास गरिरहेको समेत सिंहले जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, ‘सुरुङहरु बाढीले ल्याएको हिलो र ढुंगाले थुनिएको छ, उद्धार टोलीले त्यसलाई खुलाउन प्रयास गरिरहेका छन् ।’ सिंहका अनुसार विरही, क्षेत्रपाल, गौचर लगायत नदी किनारामा मानिसका अंगहरु भेटिएको र त्यसको अनुसन्धान सुरु गरिएको छ ।


प्रतिक्रिया