उत्तराखण्डमा हिमनदी विस्फोट : अझै ११ नेपाली बेपत्ता

माघ २७, २०७७ | नयाँ दिल्ली
भारतको उत्तराखण्डको चमोली जिल्लामा आइतबार बिहान हिमनदी फुटेर धौलीगंगा लगायत नदीहरुमा आएको बाढीमा अझै ११ जना नेपालीहरु बेपत्ता छन् । उत्तरखण्डको चमोली जिल्ला प्रहरीले सार्वजनिक गरेको हराइरहेका १७५ जना मध्ये एघार जना नेपाली रहेका छन् । सूचीमा तिनीहरुलाई नेपाली भनिए पनि एक जनाको मात्र ठेगाना खुलेको छ ।
हराइरहेका नेपालीहरुमध्ये तीन जना तपोवनस्थित एनटीपीसीको जलविद्युत आयोजना, ७ जना ऋषिगंगा जलविद्युत परियोजनामा र १ जना रैणी गाउँमा मजदुरी गर्दै आएका थिए । तीमध्ये तपोवन आयोजनामा कार्यरत सोहन चौधरीको मात्र नेपालको ठेगाना खुलाइएको छ । उनको ठेगाना कैलालीको टिकापुर उल्लेख छ ।
प्रहरीले जारी गरेको सम्पर्कबिहीन रहेका ऋषि गंगा परियोजनामा कार्यरत ५५ मजदुरहरुको सूचीमा कतिपयको थर र ठेगाना उल्लेख नगरिएको हुँदा थप नेपालीहरु बेपत्ता भएको हुनसक्ने आंशका गरिएको छ । यसअघि बेपत्ता भएका भनिएकाहरु मध्ये ४ जना नेपाली जिवितै उद्धार गरिएको थियो । उनीहरुलाई आईतबार साँझ इण्डो–तिब्बत बोर्डर पुलिस (आईटीपीबी) को टोलीले जिवितै उद्धार गरेको थियो ।
आईटीपीबीका प्रवक्ता विवेक पाण्डेका अनुसार आईतबार साँझ ४ जना नेपाली गरी जम्मा १२ जनालाई चमोली जिल्लाको तपोवनस्थित जलविद्युतको सुरुङंबाट जिवितै उद्धार गरिएको हो । उनीहरु धौलीगगांमा आएको बाढीले बगाएर ल्याएको हिलो र ढुंगाले निर्माणाधिन सुरुङमा फसेका थिए । बिहान १० बजेदेखि थुनिएका उनीहरुलाई साँझ ५ बजे उद्धार गरिएको थियो ।
उद्धार गरिएका नेपालीहरुमा चित्रबहादुर, वसन्तबहादुर, सन्तबहादुर र किरणबहादुर रहेको खुलेको छ । उद्धार गरिएका सबैको चमोलीस्थित आईटीबीपीको अस्पतालमा उपचार भईरहेको र स्वास्थ्य अवस्था सामान्य रहेको प्रवक्ता पाण्डेले जानकारी दिनुभयो ।
उद्धार गरिएका वसन्तले आफ्नो स्थायी घर प्युठान भएको आईटीबीपीद्वारा जारी एक भिडियोमा बताएका छन् । ‘मेरो घर प्युठानको गौमुखीको रजगरा हो । तपोवनको आयोजनामा काम गर्दै थिएँ । अचानक बाढी आयो । बिहान १० बजेदेखि पाँचसम्म सुरुङमै थुनिएँ । साँँझ उद्धार भएँ । मेरो स्वास्थ्य ठिक छ,’ उनले भिडियोमा भनेका छन् ।
आइतबार बिहान उत्तराखण्डको जोशीमठ नजिक हिमनदी फुटेपछि धौलीगंगा, अलकनन्दा लगायत नदीमा बाढी आएको थियो । धौलीगंगाको बाढीले चमोली जिल्लाको रैनी र तपवोवन क्षेत्रमा ठूलो मात्रामा जनधनमा क्षति पुर्याएको छ । हिमनदीको फुटेको क्षेत्र नजिकका दुई गाउँ पनि बगाएको छ । त्यसैगरी बाढीले जोशीमठ क्षेत्रमा चार वटा पुल पनि बगाएको जनाएको छ ।
बाढीका कारण ४ वटा जलविद्युत आयोजनामा क्षति पुगेको भारतीय सञ्चार माध्यमले जनाएको छ । त्यसमा पनि तपोवनस्थित ऋषिगंगा जलविद्युत परियोजना र एनटिपिसि जलविद्युत परियोजनामा बढी क्षति पुर्याएको थियो । अझै पनि तपोवनस्थित एनटीपीसीको जलविद्युत परियोजनाको सुरुङमा कम्तीमा ३५ जना मजदुरहरु फसेको आशंका गरिएको छ ।
उनीहरुको उद्धार प्रयास जारी छ । पश्चिम नेपालबाट वर्षेनी हजारौंको संख्यामा नेपालीहरु उत्तराखण्डको जलविद्युत र सडक परियोजना काम गर्न जाने गरेका छन् । त्यही भएर आइतबारको बाढीमा हराएकाहरुमध्ये थप नेपालीहरु पनि हुन सक्ने आशंका गरिएको छ ।
हराइरहेका नेपाली
१. सोहन चौधरी, टिकापुर (कैलाली)
२. शंकर चौधरी, नेपाल
३. विष्णु मल्ल, नेपाल
४. गणेश नेपाली, नेपाल
५. जंगबहादुर नेपाली, नेपाल
६. गोविन्द सिंह, नेपाल
७. रणजित सिंह, नेपाल
८. शंकर, नेपाल
९. मकर सिंह, नेपाल
१०. मदन सिंह, नेपाल
११. रमेश, नेपाल