सिरियामा अमेरिकी हवाई हमला

रेडियो कान्तिपुर संवाददाता

फाल्गुन १४, २०७७ | काठमाडौं

अमेरिकी सेनाले सिरियामा इरान समर्थित मिलिशिया समूह विरुद्ध हवाई हमला गरेको बताएको छ । बाइडेन प्रशासन आएपछि अमेरिकाले गरेको यो पहिलो हवाई आक्रमण हो । 

 अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले पछिल्लो समय इराकमा अमेरिकी र गठबन्धनका कर्मचारी विरुद्ध भएका आक्रमणको जवाफमा अमेरिकी सेनाले हवाई कारबाही गरेको जनाएको छ । इरान समर्थित चरमपन्थी समूहका तर्फबाट प्रयोग हुने गरेका बोर्ड कन्ट्रोल प्वाइन्टमा राखिएका कयौं सुविधाहरु समेत नष्ट गरिएको पेन्टागनले जनाएको छ ।

सिरियामा भएको सो हवाई कारबाहीमा परी इरान समर्थक कम्तीमा २२ लडाकू मारिएको द सिरियन अब्जरभेटरी फर ह्युम्यान राइट्सलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । सिरियामा सन् २०११ को मार्च महिनाबाट त्यहाँका राष्ट्रपति बसर अल असदको राजिनामाको माग गर्दै जनआन्दोलन सुरु भएको थियो । त्यसयता गृहयुद्धको चपेटामा रहेको सिरियामा इस्लामिक स्टेट्स र अल कायदा लगायतका आतंककारी समूहहरुले आक्रमण गर्दै आएका छन् जसको जवाफमा त्यहाँ तैनाथ अमेरिकी सेनाले पनि आफ्नो कारबाही जारी राखेको छ । 


प्रतिक्रिया